पोखरामा हेल्दी हार्ट नेपालको मुटु सम्बन्धी अभिमुखीकरण सम्पन्न

पोखरा, २० असार। पोखरामा हेल्दी हार्ट नेपालको आयोजनामा एक दिने मुटु सम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ। हेल्दी हार्ट नेपाल पोखराका अध्यक्ष भरतराज पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न तहमा कार्यरत मुटु रोग विशेषज्ञहरूले मुटु रोग, यसबाट बच्न अपनाउनुपर्ने पूर्व सावधानी, खानपिन, आहारविहार र धुम्रपान तथा मध्यपानले पार्ने असरका बारेमा बृहत् छलफल गरेका थिए।

मुटु रोग विशेषज्ञ डा. सूर्य देवकोटाको समन्वयमा भएको उक्त कार्यक्रममा काठमाडौँबाट आएका करिब आधा दर्जन वरिष्ठ चिकित्सकहरू तथा पोखराका स्थानीय चिकित्सकहरूले आ-आफ्नो प्राविधिक प्रतिवेदन र धारणाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेल र गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको विशेष उपस्थिति रहेको थियो। उनीहरूले मुटु रोग र यसले समाजमा पार्ने समस्याका साथै नीति निर्माण तहमा भइरहेका तहगत समस्या र चुनौतीहरूका विषयमा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा पोखराको भूगोल, यहाँ गरिने शारीरिक कसरत र मुटु रोगबाट उत्पन्न समस्या तथा समाधानका उपायहरूका बारेमा पर्यटन व्यवसायी बनेश बहादुर भट्टराईले समेत आफ्नो विचार व्यक्त गर्नुभएको थियो। सो अवसरमा विभिन्न संघ-संस्थाका प्रतिनिधि, सरोकारवालाहरूका साथै विगतमा मुटु रोग लागेर उपचार गराई निको भएका बिरामीहरूले समेत उपस्थित भई आ-आफ्नो अनुभव र धारणा साझा गरेका थिए।

मुटुरोग विशेषज्ञ / चिकित्सकहरू (Doctors) (Cardiologists) मिलेर मुटु सम्बन्धी जटिल रोगहरूको उपचार कसरी गर्ने, नयाँ प्रविधिहरू के-के भित्रिए र बिरामीको ज्यान कसरी जोगाउने भन्ने विषयमा गम्भिर समिक्षा गरिएको थियो ।

चिकित्सा क्षेत्रमा यस्ता थिम (Theme) हरू डाक्टरहरूलाई रोगविरुद्ध लड्न र नयाँ सफलता हासिल गर्न प्रोत्साहित गर्नका लागि सरोकारवाला समेतको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको डा. देवकोटाले जानकारी दिनुभएको थियो ।

Advertisment