अग्रज पत्रकारद्वय हितानमगर र गुरुङलाई ‘कर्म–कर्ण पत्रकारिता पुरस्कार

पोखरा, २६ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’ बाट कास्कीका दुई अग्रज पत्रकार सम्मानित हुने हुनुभएको छ । वर्ष २०८२ को पुरस्कारबाट पत्रकार रुद्र बहादुर हितानमगर र वर्ष २०८३ को पुरस्कारबाट पत्रकार इन्दिरा गुरुङलाई सम्मानित गर्न लागिएको हो ।

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँका श्रीमान कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापित यो पुरस्कार यही असार २९ गते सोमबार एक कार्यक्रमका बीच प्रदान गरिने फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी दिनुभयो ।

वरिष्ठ पत्रकार एवं फोनिज गण्डकीका सल्लाहकार दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले उहाँहरूको नाम सिफारिस गरेको हो, जसलाई फोनिज कास्कीको बैठकले अनुमोदन गरिसकेको छ ।

सम्मानित हुने पत्रकारहरूको पृष्ठभूमि:

 रुद्र बहादुर हितानमगर (पुरस्कार वर्ष २०८२): वि.सं. २०४१ सालदेखि ‘परिस्थिति साप्ताहिक’बाट पत्रकारिता सुरु गर्नुभएका हितानमगर साविक आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ हाल ‘फेवा पोष्ट साप्ताहिक’मा क्रियाशील हुनुहुन्छ ।

 इन्दिरा गुरुङ (पुरस्कार वर्ष २०८३): वि.सं. २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध गुरुङले रेडियो नेपाल र रेडियो गोर्खालीमा पहिलो पटक गुरुङ भाषामा समाचार वाचन गर्नुभएको थियो । उहाँ हालसम्म पनि रेडियो नेपालमार्फत निरन्तर भाषा पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

फोनिज कास्कीले कास्कीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका आदिवासी जनजाति पत्रकारहरूलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

Advertisment