अनलाइन सट्टेबाजीको ठूलो सञ्जाल भत्कियो: एक नेपाली र सात भारतीय पक्राउ

पोखरा, २६ असार । कास्की प्रहरीले पोखरामा सफ्टवेयर कम्पनीको आवरणमा अवैध अनलाइन सट्टेबाजी (ब्याटिङ) धन्दा चलाउने एक ठूलो गिरोहलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. १८ सेदीस्थित एक घरमा छापा मारी प्रहरीले अनलाइन गेम र सट्टेबाजी खेलाइरहेको अवस्थामा एक नेपाली र सात भारतीय नागरिकसहित ८ जनालाई पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।

Screenshot

विशेष सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले असार २६ गते बिहान अन्दाजी ८:०० बजे स्थानीय जीवन श्रेष्ठको घरमा छापा मारेको थियो।

पक्राउ पर्नेहरूमा मुख्य योजनाकारसहित ८ जना

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा र सट्टेबाजी धन्दाका मुख्य सञ्चालक भारतको भुपा मानपुरका ३४ वर्षीय सत्यम सिंह रहेका छन्।

यस्तै पक्राउ पर्ने अन्य भारतीय नागरिकहरूमा २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिं तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत रहेका छन्।

‘सफ्टवेयर कम्पनी’ भन्दै कोठा भाडामा, दैनिक लाखौँको कारोबार

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार यो समूहले गत चैत १८ गते (अप्रिल १, २०२६) देखि ‘सफ्टवेयरको काम गर्ने’ भन्दै जीवन श्रेष्ठको ७ वटा कोठा भएको घर भाडामा लिएको थियो। पक्राउ पर्दासम्म उक्त स्थानबाट सट्टेबाजी धन्दा सञ्चालन भएको १०० दिन पुगिसकेको थियो।

यो समूहले सामाजिक सञ्जाल टेलिग्राम र ह्वाट्सएपमा ग्रुपहरू बनाएर ग्राहकलाई ⁠gurubhai247.pro⁠ नामको लिंक पठाउने र रकम डिपोजिट गर्न लगाउने गरेको खुलेको छ। रकम प्राप्त भएपछि रजिस्ट्रेसन गरी क्रिकेट र फुटबल लगायतका खेलहरूमा अनलाइन सट्टेबाजी गराउने र हारजितको फैसला भएपछि अनलाइनबाटै रकम भुक्तानी गर्ने गरिएको थियो।

अनुसन्धानका क्रममा यो गिरोहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँ (भारु) सम्म कमाउने गरेको र काम गर्नेहरूलाई मासिक २५ हजार भारु तलब दिने गरेको खुलेको छ। बरामद गरिएका तीनवटा फरक-फरक कम्प्युटर सिट (Sheet) हरूमा क्रमशः रु. १,११,९९,११८, रु. ९,०२,२२,०२६, र रु. १०,५५,६८,६९० क्रेडिट भएको देखिएको प्रहरीले जनाएको छ।

भारतीय बैंक खाताको प्रयोग र अन्तर्राष्ट्रिय कनेक्सन

अनुसन्धानबाट यो गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल समेत फेला परेको छ। मुख्य सञ्चालक भारतीय नागरिक रहेको र पोखरामा सञ्चालित यो केन्द्र उक्त नेटवर्कको २७ औं ब्रान्च (शाखा) का रूपमा सञ्चालनमा रहेको पाइएको छ। कारोबार लुकाउन उनीहरूले भारतीय नागरिकहरूकै बैंक खाताहरू भाडामा लिएर प्रयोग गर्ने गरेका थिए। डिजिटल भुक्तानीका लागि Axis Bank, IDFC Bank, Canara Bank, 24 Pay, Pay Bazaar, र Google Pay जस्ता बैंक तथा डिजिटल वालेटहरू प्रयोग भइरहेको पाइएको छ।

ठूलो परिमाणमा प्राविधिक उपकरण बरामद

प्रहरीले घटनास्थलबाट सट्टेबाजीमा प्रयोग हुने निम्नलिखित डिजिटल र इलेक्ट्रोनिक्स सामानहरू बरामद गरेको छ:

 विभिन्न कम्पनीका ल्याप्टप – ७ थान

 मनिटर – ६ थान

 मोबाइल फोन – ३१ थान

 भारतीय सिमकार्ड – ३४ थान

 किबोर्ड – ९ थान, चार्जर – १६ थान

 मल्टिप्लग – ४ थान, राउटर – २ थान

 १२ भोल्टको ब्याट्री र युपिएस (UPS) – १/१ थान

पक्राउ परेका आठै जना अभियुक्तहरूलाई हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाईएको सुचना अधिकारी पासवानले जानकारी दिएकाछन ।

Advertisment