सुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई रु. १ लाख ७५ हजार आर्थिक सहयोग, उत्कृष्ट विद्यार्थी र अग्रज नेतृत्व सम्मानित

युनाईटेड खबर समाचारदाता ।  काठमाडौं, साउन १७ । नेपाल तमु गुरुङ विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा सञ्चालित “सुकुम्बासी तमु गुरुङ विद्यार्थी आर्थिक सहयोग अभियान” अन्तर्गत सङ्कलित रु. १ लाख ७५ हजार रकम सुकुम्बासी तमु गुरुङ विद्यार्थी विश्वनाथ गुरुङ र उहाँको परिवारलाई हस्तान्तरण गरिएको छ।

पन्ध्र दिनसम्म सञ्चालन गरिएको उक्त अभियानबाट सङ्कलित रकम शनिबार मित्रनगरस्थित तमु गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिको सभाहलमा आयोजित एक विशेष समारोहका बिच हस्तान्तरण गरिएको हो।

नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष पवन गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिका अध्यक्ष धनमान गुरुङ प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो।

त्यसैगरी, कार्यक्रममा नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का वरिष्ठ उपाध्यक्ष दिल तमु लगायत अन्य सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

उत्कृष्ट विद्यार्थी र अग्रज नेतृत्वलाई सम्मान

कार्यक्रमका अवसरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सर्वोत्कृष्ट ४ जीपीए (4.0 GPA) प्राप्त गर्न सफल तमु गुरुङ समुदायका १० जना जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको छ। उनीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्रद्वारा विभूषित गरिएको आयोजकले जनाएको छ।

साथै, नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका सङ्घका पूर्व अध्यक्ष दिल तमुलाई बधाई ज्ञापन गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले शिक्षा, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताका माध्यमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा यस्ता अभियानले कोसेढुङ्गाको काम गर्ने धारणा व्यक्त गरे। आयोजकका तर्फबाट आगामी दिनमा पनि यस्ता समस्यामा परेका तथा आवश्यक परेका विद्यार्थीहरूलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

Advertisment