प्रहरी अपरेसन, जुवाखालबाट ११ जना, ९९ एम्पुल लागू औषधसहित १ जना पक्राउ

युनाईटेडखबर समाचारदाता

पोखरा, साउन २६ — जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका छुट्टाछुट्टै दुई स्थानबाट लागू औषधसहित एक जना र जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।

बाल्टीमा लुकाएको अवस्थामा लागू औषध बरामद

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित एक घरमा छापा मारी ३५ वर्षीय नरेन्द्र भुजलाई पक्राउ गरेको छ। लागू औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा साउन २६ गते दिउँसो १२:३० बजे खटिएको टोलीले भुजको कोठाभित्र बाल्टीमा लुकाई राखेको अवस्थामा फेनेरागन ३३ एम्पुल, नुर्फिन ३३ एम्पुल र डाईजापाम ३३ एम्पुल गरी जम्मा ९९ एम्पुल लागू औषध बरामद गरेको हो।

पक्राउ परेका भुजलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

रु. ९२ हजार नगद र तासतासहित ११ जुवाडे पक्राउ

यसैगरी, पोखरा महानगरपालिका वडा नं. ३२ घारीमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय शिशुवाले साउन २५ गते साँझ १८:१५ बजे ११ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले जुवाखालबाट नगद रु. ९२,६९५/- (बयानब्बे हजार छ सय पन्चानब्बे) र ४ बुक तास बरामद गरेको छ। पक्राउ परेका ११ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ। photo– Ai generated

Advertisment