बौद्ध संस्कार र संस्कृतिले देश विकासमा योगदान : संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ

राजबहादुर गुरुङ, युनाईटेड खबर, पोखरा । पोखरामा आयोजना गरिएको “जन्मदेखि मृत्युसम्मका बौद्ध जीवन-संस्कार” विषयक एक दिने अन्तरक्रियात्मक गोष्ठी बुघबार सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व उपकुलपति एवम् संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङले बौद्ध धर्म, संस्कृति र परम्परालाई अंगाल्न सके देशको विकास र सबलीकरणका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।प्रा डा. गुरुङले खासगरी हिमालय र पहाडी क्षेत्रहरूमा बौद्ध दर्शनको कुराकानी हुने र पालना गरिने भए तापनि सहरी क्षेत्रहरूमा गौतम बुद्धले अगाडि सार्नुभएको पञ्चशीलका सिद्धान्तहरू परिपालना गर्न अझै कमी देखिएको बताउनुभयो।

प्रा.डा. गुरुङले समाजलाई सकारात्मक दिशामा डोहोर्याउन, भ्रष्टाचार न्यूनीकरण गर्न तथा जन्मदेखि मृत्युसम्मका बौद्ध संस्कारलाई अंगाल्न सके मानव जगतमा आमूल परिवर्तन आउनेमा जोड दिनुभयो। भगवान् सिद्धार्थ बुद्धले सुरुमा पाली भाषा प्रयोग गरेको र पछि उहाँका उपदेशहरू विभिन्न भाषाहरूमा रूपान्तरण हुँदै भोटसम्म पुगेको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै उहाँले भोटका मानिसहरूले बुद्ध धर्मको संरक्षण र जगेर्ना गर्न ठूलो योगदान दिएको बताउनुभयो। यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले आगामी दिनमा मानिसहरूमा सकारात्मक ऊर्जा प्रदान गर्न योगदान पुग्ने उहाँको भनाइ थियो ।

बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन, अनुसन्धान तथा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले आयोजित यस गोष्ठीमा विभिन्न सात वटा समुदायको जन्मदेखि मृत्युपर्यन्त गरिने संस्कार, शिक्षा, दीक्षा, विवाह, अन्त्येष्टि तथा पुण्यस्मृतिबारे गहन कार्यपत्र प्रस्तुति तथा टिप्पणी गरिएको थियो।  

सत्रको पहिलो प्रस्तुतिमा पोखरा-१३ कास्कीका पूर्ण बहादुर लामाले ह्योल्मो समुदायको बौद्ध जीवन-संस्कारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी बौद्द बहुमुखी क्याम्पस काठमाण्डौका प्रमुख एबं संस्थाका सदस्य पुष्प बहादुर गुरुङले प्रस्तुत गर्नुभएको गुरुङ समुदायको बौद्ध जीवन-संस्कारमा श्रद्धेय थुप्टेन अशोक गुरुङ लामा (लामा अशोक गुरुङ) ले टिप्पणी गर्नुभएको थियो।

कीर्तिपुर काठमाडौँका बसन्त महर्जनले नेवार समुदायको बौद्ध जीवन-संस्कार प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सदस्य श्याम शाक्यले टिप्पणी गर्नुभएको थियो।  

थकाली समुदायको बौद्ध जीवन-संस्कारमा पोखरा-१८ ड्यामसाइडका हरिध्वज तुलाचनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पोखरा-११ फुलबारीका बम बहादुर छन्तयालले छन्तयाल समुदायको जीवन-संस्कार प्रस्तुत गर्नुभएको थियो भने मिम छन्तयालले त्यसमा टिप्पणी गर्नुभएको थियो।

यस्तै, पोखरा-११ फुलबारीकै डा. टेक बहादुर पुनले मगर समुदायको बौद्ध जीवन-संस्कार प्रस्तुत गर्नुभएकोमा संस्थाका सल्लाहकार श्रद्धेय भिक्षु धजवन्तोले टिप्पणी गर्नुभएको थियो। त्यसै गरी पोखरा-१३ कुडहरका दीपक तामाङले तामाङ समुदायको बौद्ध जीवन-संस्कार विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकोमा सुन्दर तामाङले टिप्पणी गर्नुभएको थियो।  

कार्यक्रमको एकेडेमिक (शैक्षणिक) सत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालय (LBU) बाट बौद्ध अध्ययन संकायका डिन डा. निर बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका डा. रामप्रसाद अर्याल र गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्ण राज अधिकारीले टिप्पणी तथा मन्तव्य राख्नुभएको थियो।  

समारोहमा बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष टेक बहादुर तामाङ र सचिव हरि प्रसाद गुरुङ लगायतका विभिन्न महानुभावहरूले आ-आफ्नो बिषमा टिप्पणी गरिएको थियो ।

बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र (Buddhist Studies and Research Center), पोखरा-८, कास्कीको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डा. मेख बहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रममा बौद्द बिषयमा विधाबारिधी गर्नुभएका प्रा.डा नारायण प्रसाद अधिकारी, लुम्बिनी बौद्द बिश्वबिघालय बौद्द अध्ययन संकायका डिन डा. नीर बहादुर गुरुड र पोखरा -११ फुलबारीका डा.टेक बहादुर पुनलाई सम्मान गरिएको थियो ।

सहभागीहरूलाई मायाको चिनो तथा प्रशासा पत्र वितरण गरी कार्यक्रमको औपचारिक समापन गरिएको थियो। कार्यक्रमको मुख्य प्रायोजक आइबोस्क ग्लोबल लाइफ इन्टरनेशनल, सह-प्रायोजक पोखरा फाइनान्स लिमिटेड र प्रायोजक बुद्ध प्रतिष्ठान पोखरा रहेका थिए।

Advertisment