सादगी,बिकासप्रेमी नेता पूर्वमन्त्री गुरुङको १३औँ दिनको पुण्यतिथिमा अन्नपूर्ण कांग्रेसले श्रद्धाञ्जली सभा गर्दै

पोखरा। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय प्रकाशबहादुर गुरुङको १३ औँ दिनको पुण्यतिथिका अवसरमा भोलि असोज २६ गते सोमबार नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिले श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ।

अन्नपूर्ण गाउँपालिका समितिका सभापति सुशील भट्टचनका अनुसार आयोजना गरिन लागेको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

गत असोजमा निधन हुनुभएका नेता गुरुङको अन्त्येष्टिका क्रममा नेपाल सरकारका तर्फबाट राष्ट्रिय सम्मानका साथ अन्तिम सलामी अर्पण गरिएको थियो।

प्राध्यापन त्यागेर राजनीतिमा आगमन

कास्कीको चर्चित पर्यटकीय गाउँ घान्द्रुकका स्थायी बासिन्दा स्वर्गीय गुरुङ राजनीतिमा आउनुअघि शिक्षा क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो। देशकै दोस्रो ठूलो आंगिक क्याम्पस पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा उहाँ भूगोल विषयको उपप्राध्यापक (लेक्चरर) का रूपमा कार्यरत हुनुहुन्थ्यो।

करिब साढे १५ वर्ष स्थायी प्राध्यापकका रूपमा सेवा गर्नुभएका गुरुङले पेन्सन पाउन केही दिन मात्र बाँकी छँदा २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएपछि प्राध्यापन पेशाबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो।

२०५६ को निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गुरुङले नेकपा एमालेका प्रभावशाली नेता सोमनाथ अधिकारी ‘प्यासी’लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यसअघि उहाँ नेपाली कांग्रेसको तत्कालीन कास्की क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति हुनुहुन्थ्यो। संसद्मा निर्वाचित भएपछि उहाँ २०५८ सालमा वाणिज्य तथा आपूर्ति मन्त्री हुनुभयो।

कास्कीको विकास र विद्युतीकरणमा ऐतिहासिक योगदान

आफ्नो मन्त्री तथा सांसद कार्यकालमा स्वर्गीय गुरुङले कास्कीको समग्र विकास निर्माणमा अतुलनीय योगदान पुर्‍याउनुभएको थियो।

विशेष गरी कास्की क्षेत्र नम्बर ३ का ग्रामीण भेगहरूमा आठौँ र नवौँ विद्युतीकरण आयोजना सञ्चालन गरी गाउँ-गाउँमा बिजुली पुर्‍याउने श्रेय उहाँलाई नै जान्छ। यसका साथै उहाँकै पहलमा कास्कीका विभिन्न ग्रामीण बस्तीहरू जोड्ने सडकहरू, मोटरेबल तथा झोलुङ्गे पुलहरू र शैक्षिक संस्थाहरूको स्थापना तथा पूर्वाधार निर्माणका लागि नेपाल सरकारबाट महत्त्वपूर्ण योजनाहरू सञ्चालन गरिएका थिए। हाल कास्की ३ मा रहेका अधिकांश ग्रामीण सडक र पुलहरूको जग उहाँकै पालामा हालिएको थियो।

सामाजिक र नेतृत्वदायी पारिवारिक पृष्ठभूमि

स्वर्गीय प्रकाशबहादुर गुरुङका हजुरबुवा गोलमान साहु र बुवा मीनबहादुर गुरुङ (साहु) हुनुहुन्थ्यो। बुवा मीनबहादुर गुरुङले घान्द्रुकको प्रधानपञ्च तथा तत्कालीन गाउँ विकास समिति (गाविस) अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

साथै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को स्थापनाकालदेखि नै अध्यक्षका रूपमा रहेर वातावरण तथा जैविक विविधता संरक्षणमा मीनबहादुर गुरुङले अतुलनीय योगदान दिनुभएको थियो। सोही योगदानको कदरस्वरूप उहाँलाई बेलायतको लन्डनमा विशेष सम्मान समेत गरिएको थियो।

Advertisment