प्रकाश बहादुर गुरुङको योगदान समाजको अमूल्य सम्पत्ति: गगन थापा,सभापति नेपाली कांग्रेस

राज बहादुर गुरुङ, पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वर्गीय नेता एवं पूर्वमन्त्री प्रकाशबहादुर गुरुङले समाज र राष्ट्रका लागि पुर्‍याउनुभएको योगदान नै कांग्रेस र उहाँको परिवारको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ।  

गुरुङको १३औँ दिनको पुण्यतिथिमा सोमबार पोखरा–१०, रामघाटस्थित बौद्ध अर्घौ सदनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले स्व. गुरुङको विकास निर्माण तथा सामाजिक योगदानको स्मरण गर्नुभएको हो।

पूर्वमन्त्री गुरुङको स्मृतिमा आयोजित उक्त कार्यक्रममा बोल्दै सभापति थापाले भौतिक रूपमा बिदा भए पनि उहाँका सत्कर्म, विचार र जनसेवाको भावनाले सधैँ प्रेरणा दिइरहने उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभयो। नागरिक र पार्टीबीच कमजोर बनेको विश्वास पुनःस्थापित गर्न कार्यशैलीमा व्यापक रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो।

कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण शुभेच्छुकलाई पुनः साङ्गठनिक दायरामा ल्याउँदै किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्न सक्ने बलियो संगठन निर्माण गर्नुपर्नेमा थापाले जोड दिनुभयो। “केवल बोलेर पुग्दैन, काम गर्ने शैलीमै परिवर्तन ल्याउनुपर्छ,” थापाले भन्नुभयो, “पार्टीले आफ्ना काम र व्यवहारबाट परिवर्तन प्रमाणित गर्नु नै स्वर्गीय गुरुङप्रतिको सच्चा सम्मान हुनेछ।”

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कांग्रेस नेता देवराज चालिसेले स्व. गुरुङको राजनीतिक तथा सामाजिक योगदानबारे आफ्ना धारणा राख्नुभएको थियो। यस्तै, अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले उहाँको व्यक्तित्वको चर्चा गर्नुभएको थियो।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापति सुशील भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डिलबहादुर जिसीले गर्नुभएको थियो। कार्यक्रममा परिवारको तर्फबाट कप्तान पदमलाल गुरुङले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्राध्यापनबाट राजनीतिसम्मको प्रेरणादायी यात्रा

वि.सं. २००९ सालमा जन्मिनुभएका गुरुङको ७२ वर्षको उमेरमा गत असोज १३ गते निधन भएको थियो। कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका स्थायी बासिन्दा उहाँले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भूगोल विषयको उपप्राध्यापकका रूपमा लामो समय प्राध्यापन गर्नुभएको थियो।

२०५६ सालको आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट कांग्रेसले उम्मेदवार बनाएपछि उहाँले प्राध्यापन पेसा त्याग्नुभएको थियो। उक्त निर्वाचनमा नेकपा (एमाले) का चर्चित नेता सोमनाथ अधिकारी प्यासीलाई पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यसपछि २०५८ सालमा उहाँ वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुभयो। उहाँले कास्कीका ग्रामीण भेगहरुमा आठौं र नवौं विद्युतीकरण, कृषि सडक तथा पुलहरु निर्माण र शैक्षिक पूर्वाधार विकासमा अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ।

सार्वजनिक जीवनमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारका तर्फबाट राष्ट्रिय सम्मानसहित सशस्त्र प्रहरीको टुकडीले उहाँलाई अन्तिम सलामी अर्पण गरेको थियो।

Advertisment