कास्की प्रहरीको ‘अपरेसन सभ्यता’: लेकसाइडबाट ३१ जना र ५८ वटा सवारी साधन नियन्त्रणमा

युनाईटेड खबर, पोखरा ।जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप ३१ जना व्यक्ति र ५८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले कात्तिक २१ गते राति १:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गरेको विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा २९ जना पुरुष र २ जना महिला रहेका छन्। उनीहरूमाथि मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, झण्डीबुर्जा खेलाएको, प्रहरीसँग विवाद गरेको, हो-हल्ला गरी शान्ति भंग गरेको तथा अनैतिक र अवाञ्छित क्रियाकलापमा संलग्न रहेको आरोप छ।

कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानले दिनुभएको जानकारी अनुसार, पक्राउ परेकामध्ये यात्रुलाई दुःख हैरानी दिने ३ जना, मोबाइल चोरी गरी फरार रहेका १ जना, झण्डीबुर्जा खेलाउने १ जना, मापसे गरी होहल्ला गर्दै सवारी चलाउने २५ जना र अनैतिक गतिविधिमा संलग्न १ जना रहेका छन्।

त्यसैगरी, सवारी साधन चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका ५८ वटा सवारी साधनमध्ये ३८ जना चालकलाई मापसे कारबाही गरिएको छ भने ९ वटा सवारी साधनलाई अन्य ट्राफिक नियमानुसार जरिवाना गराइएको छ। यसैगरी, बाँकी ११ वटा सवारी साधनलाई भने वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी पासवानले जानकारी दिनुभयो।

लेकसाइड क्षेत्रमा झै-झगडा गर्ने, पर्यटकलाई अनावश्यक दुःख हैरानी तथा दुर्व्यवहार गर्ने र अनैतिक गतिविधि गर्नेहरूलाई निरुत्साहित गर्न गत कात्तिक १९ गतेदेखि प्रहरीले ‘अपरेसन सभ्यता’ अभियान तीव्र रूपमा सञ्चालन गर्दै आएको छ। पक्राउ परेका सबै जनामाथि वडा प्रहरी कार्यालय बैदामबाट आवश्यक अनुसन्धान तथा कानुन बमोजिमको कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। (file photo)

Advertisment