देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन : मंसीर ५ र ६ गते हुने, देउवाबाट उद्दघाटन हुने !

युनाईटेड खबर, पोखरा। नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशन आगामी मङ्सिर ५ र ६ गते पोखरामा हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइराला नेतृत्वको कार्यतालिका अनुसार प्रदेश तहको यो पहिलो अधिवेशन गण्डकी प्रदेशबाट सुरु हुन लागेको हो।

प्रदेश अधिवेशनको समुद्घाटन मङ्सिर ५ गते पोखराको न्युरोडस्थित पोखरा सभागृहमा हुनेछ। १४ औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने उक्त समारोहमा कांग्रेसका शीर्ष तथा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपश्चात् मङ्सिर ६ गतेका बाँकी बन्द सत्र तथा निर्वाचनका कार्यक्रमहरू भने पोखरा महानगरपालिका-९ बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुनेछन्।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र मनाङ गरी ५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। जसअनुसार कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा राजिब गुरुङ (दीपक मनाङे) को नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति चयन भइसकेका छन्। बाँकी जिल्लाहरूमध्ये नवलपुरमा कात्तिक २८, लमजुङमा मङ्सिर १, तनहुँमा मङ्सिर २ तथा बागलुङ र गोरखामा मङ्सिर ३ गते अधिवेशन तोकिएको छ भने मुस्ताङमा पनि छिट्टै अधिवेशन सक्ने गरी तयारी भइरहेको छ।

अधिवेशनमा ३६ प्रदेश सभा निर्वाचन क्षेत्र र १८ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधिहरू, विभिन्न तहका सभापतिहरू, सांसदहरू, पालिकाका प्रमुख/उपप्रमुख तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसहित १ हजार ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। अधिवेशनले १ सभापति, २ उपसभापति, २ महामन्त्री र ३ सहमहामन्त्रीसहित समावेशी र जिल्लागत प्रतिनिधित्व रहने गरी नयाँ प्रदेश कार्यसमिति चयन गर्नेछ।

अधिवेशन सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन प्रतिनिधिहरूको रजिस्ट्रेसन, उम्मेदवारी दर्ता शुल्क र शुभचिन्तकहरूको स्वैच्छिक सहयोगबाट व्यवस्थापन गरिनेछ। अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा प्रदेश निर्वाचन समिति र प्रदेश उपसभापति मेखलाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समितिका साथै प्रचारप्रसार, अर्थ, भोजन, मञ्च तथा युवा समन्वयका लागि विभिन्न उपसमितिहरू गठन गरी व्यवस्थापकीय तयारीलाई अन्तिम रूप दिइएको प्रचार संयोजक गंगाधर पराजुलीले जानकारी दिनुभएको छ ।

Advertisment