पोखरा। पोखरालाई कर्मथलो बनाएर लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेसको राजनीति र पत्रकारिता क्षेत्रमा साढे तीन दशकदेखि निरन्तर सक्रिय व्यक्तित्व हुन्— गंगाधर पराजुली। शिक्षण पेशा छाडेर पूर्ण रूपमा पत्रकारिता र राजनीतिमा होमिएका पराजुलीलाई अग्रज सञ्चारकर्मीका साथै प्रेस स्वतन्त्रता, मानवअधिकार, नागरिक अधिकार र सुशासनका बलिया पक्षधरका रूपमा चिनिन्छ।
पत्रकारिताको पेशागत हकहित, सञ्चार व्यवस्थापन र नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणमा उनको योगदान उल्लेख्य छ।
राजनीतिक यात्राको सुरुआत र जनआन्दोलनमा संघर्ष
२०२७ सालमा कास्कीको तत्कालीन चापाकोट (हाल पोखरा महानगरपालिका वडा नं. २३) मा जन्मिएका पराजुली बाल्यकालदेखि नै सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय थिए।
नेविसंघबाट यात्रा: १२ वर्षकै उमेरमा स्थानीय पञ्चकोशी निम्न माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ समिति सचिव बनेर उनले राजनीतिक यात्रा सुरु गरेका थिए।
पहिलो गिरफ्तारी: बाराही माध्यमिक विद्यालय (मालेपाटन) मा कक्षा ९ मा अध्ययनरत छँदा बीपी जयन्ती मनाउने क्रममा न्यूरोडबाट उनी पक्राउ परेका थिए।
२०४६ को जनआन्दोलन र जेल जीवन: पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा पोखरा-२३ स्थित सिद्ध बराह माविमा अध्यापन गराइरहेका बेला सशस्त्र प्रहरीले उनलाई विद्यालय परिसरबाटै पक्राउ गर्यो। झन्डै दुई महिना कडा यातना र जेल जीवन बिताएपछि २०४६ चैत २६ गते बहुदलीय प्रजातन्त्र पुनर्स्थापनासँगै उनी रिहा भएका थिए।
पत्रकारिता: नेतृत्व
प्रजातन्त्र पुनर्स्थापनापछि पराजुलीको मुख्य पहिचान पत्रकारिता र सञ्चार क्षेत्र बन्यो। गोरखापत्र, कान्तिपुर, नेपाल टेलिभिजनका साथै पोखराका स्थानीय एफएम, पत्रिका र अनलाइनमा समाचारदाता, सम्पादक र सञ्चालकका रूपमा काम गरिसकेका उनी हाल ‘गुरुकुल खबर’ अनलाइनका सञ्चालक हुन्।
पराजुली नेपाल पत्रकार महासंघका केन्द्रीय उपसभापति, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष र राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्य रहिसकेका छन्।
पारिश्रमिक निर्धारण समितिमा ऐतिहासिक काम: २०७४ पुस २८ गतेको मन्त्रिपरिषद् निर्णयबाट दुई वर्षका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष नियुक्त भएका पराजुलीको कार्यकालमा श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको थियो। त्यसयता पत्रकारहरूको न्यूनतम पारिश्रमिकमा पुनरावलोकन हुन सकेको छैन।
प्रेस स्वतन्त्रता आन्दोलन: २०६२/६३ को जनआन्दोलनका क्रममा २०६३ वैशाख १२ गते पोखराको नयाँ सडकबाट महासंघका तत्कालीन उपसभापति पराजुलीसहित २१ जना पत्रकार पक्राउ परेका थिए। काठमाडौँबाट पनि प्रेस स्वतन्त्रताको आन्दोलनमा उनी पटक-पटक गिरफ्तार भएका थिए।
कांग्रेस राजनीति र सांगठनिक दृष्टिकोण
नेपाली कांग्रेसको संगठनात्मक राजनीतिमा पराजुलीले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्:
1. नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग सदस्य
2. कास्की जिल्ला कार्यसमितिका पूर्व सदस्य
3. १२ औँ महाधिवेशनमा कास्की जिल्ला सचिवका प्रत्याशी
4. १४ औँ महाधिवेशनमा पोखरा महानगर कार्यसमिति सभापतिका प्रत्याशी
उनी पार्टीभित्र गुटगत विभाजन अन्त्य हुनुपर्ने, तल्लो तहबाट संगठन बलियो बनाउनुपर्ने, नयाँ पुस्तालाई अवसर दिनुपर्ने र फरक विचार समूहबीच सहकार्य हुनुपर्ने धारणा राख्छन्।
विशेष महाधिवेशन र १५ औँ महाधिवेशनप्रतिको अडान:
पार्टीभित्र विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा कानुनी र अदालती उल्झन भई पार्टी विभाजनतर्फ जाने खतरा औँल्याउँदै उनले नेतृत्व चयन सधैँ नियमित महाधिवेशनबाटै हुनुपर्ने अडान राख्दै आएका छन्। यही सैद्धान्तिक स्पष्टताका कारण उनी नेतृत्व चयन गर्ने उद्देश्यले डाकिएका विशेष अभ्यासहरूमा सहभागी भएनन्।
अन्तर्राष्ट्रिय अनुभव र भावी राजनीतिक दिशा
पत्रकारिता र सामाजिक सेवाका क्रममा पराजुलीले दर्जनाौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान प्राप्त गरेका छन्। उनले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, हाइटी लगायतका मुलुकहरूको भ्रमण गरी अन्तर्राष्ट्रिय सञ्चार अभ्यास र विकास मोडलको प्रत्यक्ष अनुभव हासिल गरेका छन्।
आगामी १५ औँ नियमित महाधिवेशनको चर्चा चलिरहँदा शुभचिन्तक र केन्द्रीय नेताहरूले केन्द्रीय समितिमा आउन सुझाव दिए पनि पराजुलीले भने आफ्नै भूगोलमा रहेर गण्डकी प्रदेश समितिको महामन्त्रीमा जिम्मेवारी सम्हाल्ने ईच्छा र सोच बनाएको बुझिएको छ।




