पोखरा, नेपाली कांग्रेसको मेरुदण्डको रुपमा ब्याख्या गरिएको भातृ संघ नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्ममा हुने भएको छ । महाधिबेशन अनिवार्य गर्ने गरी पार्टीको केन्द्रीय समितिको बैठकले तरुण दलको केन्द्रीय समितिको पदावधि एक पटकका लागी थप गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । हाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङले सम्हालिरहेका छन ।
महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको समेत समाचारमा उल्लेख गरिएको छ ।
तरुण दलको महाधिबेशन गर्न पार्टीले गठन गरेको महाधिबेशन निर्देशक समितिमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, केन्द्रीय सदस्य सरिता प्रसाईं र दलका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका पार्टीका केन्द्रीय सदस्य जितजंग बस्नेत रहेका छन ।
अनसन तोडियो ।
तरुण दलको महाधिबेशन अनिवार्य गर्ने गरी मिति तोकिएको कारण यस अगाडी तदर्थ समिति भंग गर्नुपर्ने भन्दै पार्टी केन्द्रीय कार्यालयमा अनसन बसेका तरूण दलका दुईजना केन्द्रीय सदस्यले पनि बुधबार नै अनशन तोडेका छन् ।


