पोखरा । नवयुवा आन्दोलनका नाममा गत भदौमा तोडफोड भएको पोखराको सिर्जनाचोकमा रहेको एनसेलले आफ्नो सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।
एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरे । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवा एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।
कम्पनीले ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनःसञ्चालनमा ल्याएको दाहालले बताइन्।
ग्राहकले एनसेल सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सिम ईसीममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्न लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।
एनसेलले मुलुकका करिब ३१ ठाउंमा सेन्टर सञ्चालन गर्दै आएको छ।


