स्याङजाको भैँसेगौडा र राङभाङ क्षेत्रको बायोडाइभरसीटी प्रोफाइल सार्वजनिक

पोखरा । स्याङजाको पर्यापर्यटन बुझाउने पुस्तक बायोडाइभरसीटी प्रोफाइल सार्वजनिक गरिएको छ ।

प्रकृतिका साथीहरू नामक संस्था र स्याङ्जाको पुतलीबजार नगरपालिका २ स्थित भैँसेगौडामा रहेको मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेले पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडा गाउँको जैविक विविधता समेटिएको बायोडाइभरसीटी प्रोफाइल सार्वजानिक गरेको हो ।

चरा, वन्यजन्तु, पुतली, चमेरा, वनस्पति अनुसन्धान कर्मी, विज्ञहरु राजु आचार्य, यादव प्रसाद घिमिरे, विकास घिमिरे सुमन सापकोटा, सुरेन्द्र परियार, सोम जीसी, कृष्ण प्रसाद भुसाल, ऋषि बराल, विनय घिमिरे, किरण पन्थी, संगम पौडेल, वर्षा अधिकारी, बालकुमार गुरुङ, करणबहादुर शाहले सयुक्त रुपमा लेखेका हुन् । पुस्तकको बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरि सार्वजानिक गरिएको हो । पुस्तकमा विरुवा गाँउपालिका वडानम्बर ३ राङभाङ र भैँसेगौडा क्षेत्रको भौगोलिक र जैविक विविधताको विस्तृत विवरण, अवसर र चुनौतीहरुको विश्लेषण गरिएको छ । यहाँ पाइने दुई ७९ प्रजातीका रुखविरुवा, एक सय २६ प्रजातीका पुती, १६ प्रजातीका सरीसृप, उभयचर, दुई २९ प्रकारका पंछी तथा २६ प्रजातीका स्तनधारी जीवजन्तुहरुको वैज्ञानिक नाम सहितको अंग्रेजी, नेपाली भाषाको चेकलिष्ट समावेश गरिएको छ ।

कार्यक्रममा मानव वन्यजन्तु द्धन्द्धको मुल्याङकन र न्युनिकरण परियोजना सम्बन्धि प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले प्रस्तुती दिनुभएको थियो । उहाँले मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागि स्थानीय र सरोकारवाला निकायहरु बिचको समन्वय आवश्यक रहेको औल्याउनुभयो । वन्यजन्तुले अहिले सम्म ७ सय १८ वटा पशुधनको क्षति गरेको र विशेष गरि अन्नबालीमा बादर, दुम्सी, रतुवाबाट किसान पिडित हुनुपरेको बताउनुभयो । क्षति पुगेका किसानलाई संस्थाले प्रतिव्यक्ति १२ हजार सम्म क्षतिपुर्ति समेत दिइएको बताउनुभयो ।

पर्यापर्यटनको माध्यमबाट गाउँको विकास गर्ने उद्देश्यले गाउँमा पाइने जैविक विविधताको अनुसन्धानको क्रममा चितुवा, चरी बिरालो, दुम्सी लगायतका २६ प्रजातिका स्तनधारी प्रजातिका वन्यजन्तु पाइने आचार्यले जानकारी दिनुभयो । हिउँदको समयमा अध्ययन गरिएकोले अझ धेरै प्रजातिका चरा, पुतली, सरीसृप पाइन सक्ने अध्येयताले बताएका छन् ।

राङभाङ गाउँमा जैविक विविधताको संरक्षण सँगै पर्यापर्यटनको विकास गर्न गाउँमा संरक्षण कार्यक्रम पनि हुँदै आएका छन् । यसको साथै मानव वन्यजन्तु नियन्त्रणकालागि संरक्षण कार्यक्रम पनि हुँदै आएको छ । संरक्षण कार्यक्रम अन्तर्गत गाउँमा २०७५ मा लाटोकोसेरो संरक्षण उत्सव भएको थियो । प्रकृतिका साथीहरू र स्थानीय गाउँको संयुक्त आयोजनामा लाटोकोसेरो र जैविक विविधता संरक्षणकालागि महोत्सव भएको भैँसेगौंडा सामुदायिक होमस्टेका सञ्चालक बालकुमार गुरुङले बताउनुभयो ।

२०७५ सालमा दर्ता गरेर पाँच घरबाट होमस्टे सञ्चालन गरिएको गुरुङले बताउनुभयो । होमस्टेमा स्वदेशी तथा विदेशी पर्यटक आउने र प्रकृतिमा रमाउने पनि उहाँले बताउनुभयो । वन्यजन्तु अनुसन्धान विधि तालिम वर्षमा दुई चोटि ३८ दिन हुने । यस्तै गरी विभिन्न सङ्घ संस्थाको तालीम लगायतका कार्यक्रम हुने गरेको उहाँले बताउनुभयो । पुस्तक विमोचन कार्यक्रममा पुतली बजार नगरपालिकाका मेयर तुलसी राम रेग्मी, प्रकृतिका साथीहरू संस्थाका अध्यक्ष सोम जीसी, वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक सुमन भट्टराईले पुस्तकले गाउँको जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

प्रकृतिका साथीहरु नामक संस्थाले वर्षेनी देशका विभिन्न लाटोकोसेरो महोत्सव आयोजना गर्दै आएको छ । गाउँको जैविक विविधताको अध्ययनले गाउँमा कुन कुन प्रजातिका वन्यजन्तु, वनस्पति पाइन्छन् र ती वन्यजन्तु, वनस्पतिको महत्वका बारेमा जानकारी भएर संरक्षणमा योगदान पुग्ने पुतली बजार नगरपालिकाका मेयर रेग्मीले बताउनुभयो ।

गाउँको जैविक विविधता संरक्षण र पर्यापर्यटन विकासमा महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको पनि उहाँले सुनाउनुभयो । अगामी दिनमा पर्यापर्यटन र जैविक विविधताको संरक्षण गर्न गाउँको सामुदायिक वनमा वन्यजन्तुकालागि पोखरी निर्माण, किरा होटल खोल्ने, चमेरा बगैँचा, लाटोकोसेरो संरक्षण केन्द्र, विद्यालयमा नेचर क्लब गठन, साइकल यात्राको गन्तव्य, प्रकृतिमा आधारित खुला विश्वाविद्यालय संचालन गर्ने उद्देश्य संस्थाको छ ।

Advertisment