युनाईटेड खबर संवाददाता, पोखरा । साउन ८ गते । विदेश भ्रमणको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने र युवायुवतीलाई प्रलोभनमा पारी अवैध काममा लगाउने एक गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित पुष्पेन्द्र कोइरालाको घर भाडामा लिई अनलाइन स्क्याम सञ्चालन गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सप्तरीको कञ्चनपुर नगरपालिका वडा नं. १२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य शान्तिनगर बस्ने ३० वर्षीय मोहम्मद याशिर (Mohammed Yasheer) रहेका छन्।
ठगीको शैली: ‘कुपन भर्नुहोस्, उपहार जित्नुहोस्’
प्रहरीका अनुसार उनीहरूले ‘Oasis Tourism International’ नामको गैरकानुनी संस्था खडा गरी १५ जना युवायुवतीहरूलाई काममा लगाएका थिए। उनीहरूले अनलाइन तथा फोनमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी “3N/4D Holiday Voucher Fill & Win, Register & Win Assured Gift” लेखिएको कुपन भर्न लगाई रकम उठाउने गरेका थिए।
एशिया र युरोप महादेशका विभिन्न देशहरूमा ३ रात र ४ दिन घुम्न लैजाने प्रलोभन देखाइ हालसम्म ३० जना व्यक्तिहरूबाट रु. ९,६५,०००/- (नौ लाख पैसठ्ठी हजार) ठगी गरिसकेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
साथै, १५ जना बेरोजगार युवायुवतीलाई वैधानिक काम भन्दै रोजगारीको प्रलोभनमा पारेर यस्ता अवैध क्रियाकलापमा संलग्न गराएको प्रहरीले जनाएको छ।
बरामद सामानहरू
घटनास्थलबाट प्रहरीले ठगीमा प्रयोग भएका सामानहरू बरामद गरेको छ । जस अनुसार कम्प्युटर र मनिटर: २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक: ८ थान, कुपन रसिद: (विभिन्न व्यक्तिहरूको नाममा काटिएका अर्धकट्टीहरू)
स्टेम्प छाप: ४ थान
पक्राउ परेका दुवै जनामाथि कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाईएको कास्की प्रहरी प्रवक्ता डिएसपि बिरेन्द्र कुमार पासवानले प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएका छन् ।




