कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर र इन्दिरा सम्मानित

पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’ बाट अग्रज पत्रकार रुद्रबहादुर थापामगर र पत्रकार इन्दिरा गुरुङ सम्मानित भएका छन्।

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी गुरुड र वहांको जिवन संगिनी कर्ण बहादुर गुरुडको बैवाहिक बर्ष गांठको अवसरमा हरेक बर्षको असार २९ गते यो पुरस्कारबाट पुरस्कृत गर्ने गर्दछ ।

पोखरामा आयोजित एक विशेष कार्यक्रमका बिच पत्रकार थापामगरलाई २०८२ सालको र पत्रकार गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो। गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले उनीहरूलाई सम्मानपत्र, भाङ्ग्रा, घलेक तथा जनही १५ हजार रुपैयाँ नगदसहित सम्मान गरे।

समावेशी र व्यावसायिक पत्रकारितामा जोड

कार्यक्रममा बोल्दै प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। यस्तै, पुरस्कारदाता कर्म गुरुङले यस्ता सम्मानले पत्रकारहरूको मनोबल बढाउन ठूलो मद्दत पुर्याउने बताए।

 हुम गुरुङ (अध्यक्ष, तमु धिं नेपाल): समावेशी पत्रकारितालाई अझ संस्थागत र बलियो बनाएर लैजानुपर्नेमा जोड दिए।

 अशोक पालिखे (अध्यक्ष, नेवा खल कास्की): आदिवासी जनजातिका भाषा, संस्कृति र प्रमुख मुद्दाहरूलाई पत्रकारितामार्फत प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राखे।

 दीपेन्द्र श्रेष्ठ (संयोजक, पुरस्कार छनोट समिति): चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय रुद्रबहादुर थापा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको र इन्दिरा गुरुङ भाषा पत्रकारितामा निरन्तर समर्पित रहेको बताए।

सम्मानित व्यक्तिको प्रतिबद्धता

पुरस्कार ग्रहण गरेपछि पत्रकार रुद्रबहादुर थापामगरले यो सम्मानले आफूलाई अझ जिम्मेवार र सक्रिय भएर पत्रकारितामा लाग्न प्रेरणा मिलेको बताए।

यस्तै, अर्की सम्मानित पत्रकार इन्दिरा गुरुङले भाषा पत्रकारिताको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाइन्। २०५४ सालदेखि रेडियो नेपालसँग आबद्ध भएर काम गर्दै आएकी (इन्दिरा) ले आदिवासी जनजातिका भाषा, संस्कृति र समसामयिक विषयमा निरन्तर समाचार तथा कार्यक्रमहरू उत्पादन गर्दै आएकी छन ।

अन्य व्यक्तित्वहरू पनि सम्मानित

फोनिज कास्कीकी अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्य विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो:

 मिना थापामगर: राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८३

 दुर्गा रानामगर: पोखरा महानगरपालिकाको उत्कृष्ट युवा पुरस्कार

 मेग्मा गुरुङ: ११औँ राष्ट्रिय हप्किदो च्याम्पियन

कार्यक्रममा  तमु विद्यार्थी समिति कास्कीका तर्फबाट पुरस्कारदाता कर्म गुरुङलाई सम्मान गरिएको थियो।

Advertisment