नेपाली कांग्रेस लोकतन्त्र बचाउनका लागि एकजुट हुनुपर्छ: केन्द्रीय सदस्य सचिन कुमार तिमिल्सिना

पोखरा, १३ कात्तिक — नेपाली कांग्रेसका केन्द्रीय सदस्य सचिन कुमार तिमिल्सिना, लोकतन्त्र बचाउनका लागि पार्टी पुनः एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, प्रदेश (ख) कार्यसमितिको आयोजनामा शुक्रबार भएको नव निर्वाचित कार्यसमितिको पदस्थापन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।  

गोल्डेन हाउस पार्टी प्यालेस, जिरो कि.मी.मा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नेता तिमिल्सिनाले वर्तमान सरकारप्रति कडा आलोचना गर्नुभएको छ। सरकारले राज्य आतंक मच्चाएको, प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको र व्यापार व्यवसायहरूमा धरपकड गरेको उहाँले गम्भीर आरोप लगाउनुभयो। साथै, मुलुकको शान्ति सुरक्षालाई नियन्त्रणमा लिन नसकेको, सुकुम्बासीहरूको उठिबास लगाएर तिनको संरक्षण गर्न असफल भएको र मुलुकको आर्थिक अवस्था मजबुत बनाउनेतर्फ ध्यान नदिएर सरकार केवल स्टन्टबाजीका कामहरूमा मात्र केन्द्रित रहेको उहाँको भनाइ थियो।  

प्रदेश कार्यसमितिका सभापति विजय गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव चन्द्रेश्वर बस्ताकोटीले गर्नुभएको थियो। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Advertisment