को हुन पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष बनेका कास्कीका गंगाधर पराजुली ?

 

काठमाडौं २८ पौष ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली नियुक्त भएका छन् । मन्त्रीपरिषदको शुक्रवारको बैठकले पराजुलीलाई आागमी चार वर्षको नियुक्त गरेको हो । पोखरामा रहेर पत्रकारितामा क्रियाशील पराजुली करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय छन् ।

पराजुलीले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

२०६२र०६३ को जनआन्दोलन बेला पत्रकार महासंघको केन्द्रीय उपसभापतिका रुपमा क्रियाशील थिए । गोरखापत्र दैनिक र गोरखापत्र संस्थानका प्रकाशनहरु, कान्तिपुर दैनिक तथा कान्तिपुर पव्लिकेशनका प्रकाशनहरुका साथै नेपाल टेलिभिजन, नेपाल समाचार पत्र लगायत राष्ट्रिय संचारमाध्यममा लामो समय सक्रिय भएर पत्रकारिता गरिसकेका छन् ।
पोखरामा रहेर पनि पत्रकारिताको माध्यमबाट राष्ट्रिय पहिचान बनाउन सफल गंगाधर पराजुली करिब २५ वर्ष पत्रकारितामा छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनी २०४९ सालदेखि पत्रकारितामा निरन्तर छन् ।

नेपाल पत्रकार महासंघ र काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिको क्रमशः उपसभापति र उपाध्यक्ष भएर उनले काम गरिसकेका छन् ।

राष्ट्रिय समाचार समितिको संचालक समितिको सदस्यको सदस्य समेत रहेका पराजुलीले कार्यकाल बाँकी रहँदै केही समय अघिमात्रै पदबाट राजीनामा दिएका थिए । राससको महाप्रवन्धक बन्ने चाहना राखेपनि माओवादी नेता जनार्दन शर्माका भाइलाई राससको महाप्रवन्धक बनाइएपछि गत जेठ महिनामा उनले सदस्य पदबाट राजीनामा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ कास्कीले प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा संचालन गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल जेसीसले प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार, नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कार, बालकृष्ण उग्रतारा पत्रकारिता पुरस्कारसहित विभिन्न सम्मान र पुरस्कार समेत उनले प्राप्त गरेका छन् ।

Advertisment