फुटबल प्रेमीका लागि खुसीको खबर ! राष्ट्रिय फुटबलर बिमल भारतीय क्लब मोहन बगानमा अनुबन्धित

काठमाडौँ, १४ माघ ।

भारतीय फुटबल जायन्ट मोहन बगान एसीले चर्चित नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरलाई अनुबन्ध गरेको छ । पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ ।

सन् २०१४ को मार्चमा चर्चित बेल्जियन क्लब एन्डरलेक्टमा ट्रायलका लागि पुगेका बिमलले क्लबको यु–१६ टोलीहरुमा रहेर तीन प्रतियोगितामा सहभागिता जनाएका थिए । साथै उनले आफ्नो प्रदर्शनबाट धेरैलाई प्रभावित समेत पारेका थिए ।

लगतै २०१४ जुन ८ तारीखका दिन उनलाई क्लबको यु–१९ टोलीलाई छोटो समयका लागि अनुबन्ध गरिएको थियो । त्यसपछि बिमलले पहिलो पटक क्लबका लागि नेदरल्याण्डमा सम्पन्न कोपा डेल अगाथामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा बिमलले दुइ गोल समेत गरेका थिए । प्रतियोगिताको उपविजेता बनेको एन्डरलेक्टले फाइनलमा एटलेटिको पारानान्सेसँग ०–३ ले पराजित हुन पुगेको थियो ।

बिमल सबैभन्दा कम उमेरमै नेपालको राष्ट्रिय टोलीबाट खेल्ने पहिलो खेलाडी हुन् । उनले केवल १४ बर्षको उमेरमा नेपालका लागि बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । बिमल आइतबार कोलकाता पुग्नेछन् भने सोमबारदेखि क्लबको अभ्यासमा सामेल हुनेछन् । क्लब र बिमलबीचको सम्झौताबारे थप खुलाइएको छैन ।

भारतीय फुटबल इतिहासकै सबैभन्दा सफल, पुरानो र चर्चित क्लब मध्ये एक मोहन बगानले सन् २०१४–१५ को आई लिग उपाधि समेत जितेको थियो ।

Advertisment