कांग्रेसका नेताहरुले भने ‘सरकार विरुद्ध ठूलै आन्दोलन गर्नु छ’

रमेशकुमार पौडेल
चितवन — नेपाली कांग्रेस निकटका कानुन व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार संविधानको भावना विपरित चल्न थालेका कारण ठूलै आन्दोलनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।शनिबारबाट नवलपुरको गैंडाकोटमा सुरु भएको महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘कम्युनिष्ट नीति र शिक्षाले उनीहरु हुर्केका छन् त्यसैले चुनाव जितेरै आएका भए पनि कम्युनिष्ट शासन ल्याउने प्रयास उनीहरुबाट हुन्छ हुन्छ। त्यसलाई हामीले रोक्नु पर्छ।’ कांग्रेसका लागि आन्दोलन रहर नभएर बाध्यता बनेको उनले बताए।

‘अब अहिलेको सरकारले के गर्नसमेत थाल्यो भने बीपीको नामको हो भनेर भरतपुर क्यान्सर अस्पतालको जग्गासमेत हडप्न खोज्ने भयो। यसैका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने भयो’ देउवाले भने। भरतपुरको क्यान्सर अस्पतालको जग्गामा महानगरपालिकाले सिटी हल बनाउने तयारी सुरु गरेपछि कांग्रेसको जिल्ला तह विरोधमा छ। पार्टी सभापति देउवालेसमेत महानगरको तयारीको विरोध गरे।

उनले डा.गोविन्द केसीसँग भएको सम्झौता स्वागतयोग्य भएको बताए। ‘तर अहिले फेरि भीसी (विश्व विद्यालयका उपकलपति) हटाउने कुरा उठेको छ। भीसी हटाउने षडयन्त्रमा लाग्नु भनेको हामीलाई सरकारले आन्दोलनमा जबरजस्ती धकेल्नु हो’ देउवाले भने। डा.गोविन्द केसीसँग सहमति गर्दा चिकित्सा शिक्षा सम्बन्धि न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेका ४२ जनालाई कारबाही गर्ने उल्लेख छ। त्यसमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.तिर्थ खनियाँको नाम पनि छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय समितिले प्राधन न्यायाधीशमा नाम सिफारिस भएका व्यक्तिको सुनुवाई सके पनि तत्काल निर्णय नआउनु शंकास्पद भएको बताए। ‘सुनुवाइ सकिएपछि तत्काल निर्णय आउनुपर्नेमा रहस्यमय ढंगले रोकिएको छ। यसमा केही राजनीति मिसिएको हुनु पर्छ। उहाँहरुसँग बहुमत छ जताततै प्रयोग गर्ने हिम्मत गरेको पो हो कि’ पौडेलले आशंका पोखे।

सभामुख उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने संवैधानिक व्यवस्थालाई पनि सत्तारुढ दलले पालना नगरेको पौडेलले बताए। ‘संघीय र प्रदेश संसदमा सभामुख उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने प्रावधान छ। अहिले दुवै पदमा सत्तारुढ एकै पार्टीका व्यक्तिहरु हुनुहुन्छ। हामी यसो नगर्नुस भन्छौँ तर उहाँहरु रकमी कुरा गरेर संविधानलाई कुल्चदै हुनुहुन्छ।’

पार्टीका उपसभापति विमलेन्द्र निधिले सभामुख उपसभामुखका सन्दर्भमा सत्तारुढ दलले संविधान मिचेको विषयमा डीएलए–नेपालले बोल्नुपर्ने बताए। ‘संविधान मिच्नेले भोलि संविधान कुल्चन पनि सक्छन्। त्यसैले बेलैमा डीएलएले यस विषयमा बोल्नुपर्छ’ उपभापति निधिले भने। सरकारको कार्यशैली हेर्दा ठूलै आन्दोलनको तयारीमा रहनुपर्ने अवस्था आएको उनले बताए।

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनाएका कारण उनीहरुमा सत्ताको दम्भ बढ्दै गएको पार्टीका महामन्त्री शशांक कोइरालाले बताए। नेपाली कांग्रेसभित्रको गुट उपगुट अन्त्य भएमा पार्टीले सरकारले गर्ने गलत कामको बलियो तरिकाले प्रतिरोध गर्न सक्ने उनले बताए। कान्तिपुरबाट

Advertisment