युनाईटेड खबर समाचारदाता
पोखरा, २८ साउन । गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो ।
‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्यायाधिवक्ताको हो’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । उहाँले संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्नाकार्य सम्पादन गर्दै आएको विश्वास व्यक्त गर्नुभयो ।
मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रूपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधानअनुसार कार्यालयले वर्षेनी प्रतिवेदन प्रस्तुत गर्ने गरेको जनाउँदै गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो ।
उहाँले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको बताउनुभयो । उहाँले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकमा निर्माणमा सहयोग गरेको र कार्यालय शुन्य बेरुजुको प्रयासमा रहेको बताउनुभयो ।
नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रतिवेदनमा कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानुनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरणलगायत प्रतिवेदनमा उल्लेख गरिएको छ ।




