बिन्दु कुमार थापाद्वारा सांसद बिकासकाेष सार्वजनिक

पाेखरा । सांसद बिन्दुकुमार थापाले प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २ करोडका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा खर्च गर्ने गरी उक्त कार्यक्रम सरकारले ल्याएको थियो ।
समानुपातिक सांसदको पनि भूमिका रहने हुँदा उनले सबैको चित्त बुझाएर नै २ करोडका कार्यक्रम लागु गर्न लागेको जानकारी दिए ।
कार्यक्रम अन्तर्गत विनियोजित बजेटमा अधिकांश भवन निर्माणका योजना छन् । सिँचाइ, खानेपानी, बत्ती जडान, बाटो मर्मत तथा विस्तार, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना लगायतका पूर्वाधार विकासका योजना सांसद थापाले सार्वजनिक गरेका हुन् ।

कास्की क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने उनीसहित ४ जना सांसद छन् । उक्त क्षेत्रमा २ जना कांग्रेस र २ जना नेकपाका सांसद छन् । तर उनले एकलौटी नभई समानुपातिक र आवश्यकताका आधारमा बजेट विनियोजन गरेको बताए । ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फको बजेट मैले निकै सुझबुझका साथ समानुपातिक ढंगबाट सबैको उपस्थितिमा विनियोजन गरेको छु । यहाँ कसैको विमति छैन,’ उनले भने, ‘सबैभन्दा धेरै सांसद रहेको क्षेत्रमध्ये म निर्वाचित भएको क्षेत्र पर्छ । सबैको चित्त बुझाउने गरी बजेट बाँडफाँट गरिएको छ । यदि सरकारको रिस पोखेको भए त्यो २ करोड मैले पनि एकलौटी वितरण गर्न सक्थें । तर म विचारको सम्मान गर्छु, राज्यजस्तो अनुदार सोचाइ मसँग छैन ।’

प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको ढाँचा नै नमिलेको तर्क गरे । संघीय सरकारसँग नबाझिने गरी सबै नीति नियम बनाउनुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै संघको नियमलाई नहेरी कार्यक्रम ल्याउँदा व्यवस्थापन नमिलेको सांसद थापाको भनाइ छ । ‘कुनै क्षेत्रमा २ करोड एउटै सांसदले योजना छान्ने । कतै ४ जनासम्म सांसदहरु हुँदा न्यायोचित वितरण कसरी हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘समान बजेटमा असमान सांसद र असमान भूगोलको व्यवस्थापन मिल्दैन भन्ने सामान्य हेक्का पनि सरकारलाई भएन ।’ आगामी वर्ष उक्त कार्यक्रम न्यायोचित हुने किसिमको बनाउन उनको सुझाव छ ।

Advertisment