मिलिजुली विजयपुर तमु समाजको रजत जयन्ती सम्पन्न तमुहरु राजनीतिमा आउनुपर्दछः मुख्यमन्त्री गुरुङ

हुम तमु
पोखरा, २४ माघ

पोखरा १३ जयगंगा मार्गस्थित मिलिजुली विजयपुर तमु समाजले आफ्नो रजत जयन्ती दुइदिने विविध कार्यक्रम गरी शुक्रवार सम्पन्न गरेको छ।

समाजको रजत जयन्ती कार्यक्रमको दोश्रो दिनको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमुहरुले मुलुकमा भएका परिवर्तनको आत्मसाथ गर्न सक्नुपर्ने बताउनुभयो। लाहुरे मात्रै होइन शिक्षा, राजनीति, शासन, प्रसासनमा तमुहरुकोले जोड दिनुपर्ने उहाँको भनाई थियो।राजनीतिलाई फोहोरी खेल ठान्ने र राजनीति तमुले गर्ने होइन भनिरहने हो भने भ्रष्ट मान्छेहरुकै राज हुने भएकाले इमान्दार तमुहरुले मुलुक हाँक्ने राजनीतिको अगुवाई गर्नुपर्दछ,मुख्यमन्त्री गुरुङले आग्रह गर्नुभयो।असल भावनाले समाजसेवा गरिरहनु भएको छ, अब समाजसेवाको ठाँउमा राजनीति जरुरी छ भन्दै विदेशमा गुलामी होइन नेपालमै मालिक बन्नुपर्ने उहाँको जोड थियो।

रजत जयन्ती स्मारिका बिमोचन गर्दै उहाँले घर घरमा पढ्ने वातावरणका लागि आमाहरुलाई विशेष आग्रह गर्नुभयो। छोरीहरु लाहुरेको कोशेली पर्खेर बस्ने होइन आफै शाखा अधिकृत, मेनेजर भएर जिम्मेवारी बहन गर्ने सोंच लिनुपर्ने मुख्यमन्त्रीले सुझाउनुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने तमुहरु आजको आवाश्यकता भएको बताउनुभयो। तमु एकता, पहिचान र अधिकारका लागि जोड दिन आग्रह गर्नुभयो जति राम्रो नृत्य प्रस्तुत गरिरहेकाछौं, त्यसरी नै शासन प्रसासनको कुर्चीमा तमुहरुको नाच्नुपर्दछ भन्दै तमु धिं नेपालद्धारा आयोजना गरिने लोक सेवा आयोगको निशुल्क तयारी कक्षामा सहभागीताका लागि आव्हान गर्नुभयो।

कानुन विषयमा स्नातकोत्तर उतिर्ण भएको भन्दै सम्मानित तमु धिं नेपालकी सचिव अधिवक्ता जुना गुरुङले शुभकामना व्यक्त गर्नुहुदै शिक्षा, राजनीति र नेतृत्वमा जोड दिन तमुहरुलाई आग्रह गर्नुभयो।

मिलीजुली विजयपुर तमु समाजका अध्यक्ष ईन्स्पेक्टर मानकाजी तमुको अध्यक्षतामा भएको कार्यक्रममा फुलवारी तमु समाजका अध्यक्ष तिलबहादुर तमु, कामना टोल विकास संस्थाका अध्यक्ष कृष्णराज गौतम, समाजका कार्यसमिति सदस्य कामना तमु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष खड्गबहादुर तमु र संचालन सचिव चिनबहादुर तमुले गर्नुभएको थियो।

उक्त कार्यक्रममा रजत जयन्ती समारोह सम्पन्न गर्न सहयोग गर्नुहुने १०१ वर्षीया जेष्ठ नागरिक पुर्णकुमारी तमु लगायत सहयोगीहरुलाई सम्मान गरिएको थियो भने समाजका कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थियो।

रजत जयन्तीको पहिलो दिन प्रदेश सभा सदस्य मनबहादुर तमुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। पहिलो दिन स्वास्थ्य शिविर आयोजना गरी समाजका सदस्यहरुलाई स्वस्थ परिक्षणका साथै स्वास्थ्य सचेतना गराइएको थियो भने विविध खेलकुद र साँस्कृतिक कार्यक्रम गरिएको समाजका अध्यक्ष ई.मानकाजी तमुले जानकारी दिनुभयो ।

Advertisment