डा. गाेबिन्द केसी काे जायज माग सम्बाेधन गर – कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीले उठाएका जायज मागहरु पूरा गर्न र उनको जिवन रक्षा गर्न तत्काल बार्ता गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेको छ । प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ साउन १० गते डा.केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा उल्लंघन गरिएको कारण आज पुनः अनशनको परिस्थिति आएको भन्दै कांग्रेसले सार्वजनिक अपिल गरेको हो ।

कांग्रेस प्रवक्ता एबं प्रचार बिभाग प्रमुख विश्प्रकाश शर्माले आज जारी गरेको बक्तव्यमा डा. केसीको पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको उल्लेख छ ।

बक्तव्यमा भनिएको छ– ‘नेपाली कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, कांग्रेसकै पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा.केसीका मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” पनि नेपाली कांग्रेसकै पालामा जारी गरिएको सर्वविदितै छ ।’

कांग्रेसले आफ्नो पालामा आएको अध्यादेशले चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसक्ने दावी गर्दै डा. केसीको अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई अपिल गरेको छ ।

Advertisment