पर्यटकको रोजाईमा स्याङजाको गुरुङहिल

धनु गुरुङ,
स्याङजा, १९ कार्तिक ।

यत्तिबेला नेपालका उत्तर तर्फका हिमाल खुलेर सेतम्मे देखिन्छन् । चिसो मौसम शुरु भए संगै बेँसीमा कुहिरो लाग्ने र लेकमा मौसम सफा देखिएको छ । कोरोना भाइरस प्रकोपका कारण बाह्य पर्यटक आउन नपाए पनि यत्तिबेला बेला केहि पर्यटकिय गन्तव्यहरुमा आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

त्यसै मध्ये तनहुँको मानहुँकोट यत्तिबेला सामाजीक सञ्जालमा भाइरल बनेको छ । कुहिरोले ढाकिएको ठाँउ भन्दा माथी मौसम खुलेका डाँडामा पुगेर सुर्यदयको दृश्य संगै सेल्फी लिने र टिकटक बनाउनेहरुको भिड नै लाग्ने गरेको छ । त्यसैगरी न्यु मिलिनियम ट्रेक अन्तर्गत पर्ने स्याङजाको वालिङ नगरपालीका वडानम्बर ३ मा पर्ने गुरुङहिल (बुढाकोट डाँडा) पनि पर्यटकिय गन्तव्य बनेको छ । समुन्द्री सतहदेखी लगभग १ हजार ७ सय मिटर उचाइमा रहेको उक्त डाँडामा पुगेर उत्तर तर्फ देखिने हिमाल र दक्षिण तर्फको कुहिरोमा देखिने सुर्यदय र सुर्यस्तको दृश्य संगै तस्विर लिनेहरुको भिड लाग्ने गरेको माझकोट पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर गुरुङले बताए । ९९ प्रतिशत गुरुङ समुदाय रहेको यो ठाँउमा गुरुङ संस्कृतिको अध्ययन अनुसन्धान एवम अवलोकन गर्न पनि पर्यटक आउन सक्ने उनको भनाई छ । गुरुङ हिल विशेष गरि पिकनिक, क्याम्पिङ्ग गरेर बस्ने पर्यटकका लागि उपयुक्त छ । पारिवारिक वातावरणमा बस्न चाहानेहरुका लागि नजिकै होम स्टेको समेत व्यवस्था रहेको बुढाकोट राम्चे होमस्टे का अध्यक्ष जम बहादुर गुरुङले बताए ।

डाँडामा क्याम्पिङ गर्न पुगेका वालिङका सुरज गुरुङले गजधुम्म बादलमाथी रहदा आफू रातभर आकशमाथी रहेको अनुभूति भएको बताए । डाँडाबाट देखिने दृश्य साच्चिकै मनमोहक रहेको भन्दै सबैलाई एक पटक अवलोकन गर्न समेत आग्रह गरे । स्थानिय शिवमित्र तमु युवा परिवार राम्चे र गुरुङ हिल युथ क्लब बुढाकोटले पर्यटकका लागि पिङ, कटेज, बगैँचा समेत बनाइदिएको छ । देशमा कोरोना भाइरसको प्रकोप कायमै रहेकाले स्वास्थ्य सुरक्षा पालना गरि पर्यटक आउन दिइएको वालिङ्ग नगरपालीका ३ का वडाअध्यक्ष सुकराज गुरुङले बताए ।

Advertisment