भूमि आयोगमा चार सदस्य थपिए, जिल्ला अध्यक्षहरु नियुक्तिकाे तयारी

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई आजै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा बासुदेव हुमागाईं छन् ।
विज्ञ सदस्यका रूपमा थपिएका सदस्यहरूमा कृषि विज्ञ भनेर थपिएका खनाल अखिल नेपाल किसान संघका सचिव हुन् । कानुन विज्ञको कोटामा सिफारिस यादव कानुनका विद्यार्थी हुन् भने नापी विज्ञका रूपमा सिफारिस भएका साह नापी विभागका पूर्व कर्मचारी हुन् । यस्तै, भूमि व्यवस्था विज्ञ भनी सिफारिस भएका हुमागाईं मालपोतका पूर्व कर्मचारी हुन् ।
आयाेगले पहिलाे प्राथमिकता भूमिहीन दलित र सुकुम्वासीका समस्या समाधानमा केन्द्रित रहने आयोगका अध्यक्ष केशव निरौलाले जानकारी दिएका छन । निराैलाले अव्यवस्थित बसोबासीकाे व्यवस्थापनमा समेत आयाेग लाग्ने बताएका छन ।
अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरेपछि सरकाले निरौलाको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो ।
आयाेगमा अझै दुई सदस्य नियुक्त गर्न बांकी रहेकाे छ । आयोगले देशव्यापी रूपमा आयोगका जिल्ला शाखाहरू यथासक्य छिटाे गठन/ बिस्तार गर्ने तयारीमा रहेकाे समाचार रहेकाे छ ।

Advertisment