कांग्रेस महाधिबेशन : सबै ट्याङकीको मत गणना समाप्त, खस आर्य र आदिवासी जनजातितर्फ पनि देउवा पक्षकै बर्चस्व

सानेपा(ललितपुर), ८ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको केन्द्रीय कार्य समितिका सबै पदको निर्वाचनको मत गणना सकिएको छ । खस आर्य र आदिवासी जनजातितर्फको नतिजा आएसंगै सबै मत गणना समाप्त भएको हो ।

काग्रेसको निर्वाच्न समितिले दिएको जानकारी अनुसार खसआर्य तर्फको खुला ७ पदमा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार रहनुभएको बताइएको छ ।

त्यस्तै खसआर्य महिलातर्फ ६ जनाका लागि भएको निर्वाचनमा मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी हुनुभएको छ।

गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो भने बाँकी पाँच जना संस्थापन समूहबाट विजयी हुनुभएको हो ।

आदिवासी जनजातिमा पनि देउवा पक्षकै पल्ला भारी

नेपाली कांग्रेसमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । आदिवासीतर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

खुलातर्फ ८ र महिलातर्फ ७ पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुर सिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी हुनुभएको छ ।
खुलातर्फका टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुनुहुन्छ भने बाँकी ७ विजयी उम्मेदवार सभापति शेरबहादुर देउवा समूहका ।

आदिवासी जनजातिको महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ हुनुहुन्छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२७ सम्म भएको थियो । १३४ पदका लागि भएको निर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएको छ

Advertisment