आकाश गुरुङ
पोखरा, १० चैत्र । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा पोखरा महानगरपालिकाको सहयोगमा उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत तीन दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। तमु धिं नेपाल केन्द्रीय आमा समितिद्धारा आयोजित कार्यक्रम विहिवार सम्पन्न भएको हो।
समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.९ का वडाध्यक्ष रामराज लामिछानेले अझै पनि कानुनी अज्ञानताका कारण विभिन्न समस्याहरुमा परिरहने अवस्थालाई कानुनी सचेतना कार्यक्रमले न्युनिकरण गर्ने बताउनुभयो। विगतदेखि तमु धिं नेपाल आमा समितिले अत्यन्तै प्रभावकारी ढंगले कार्यक्रम गरिदै आएकोमा कानुनी सचेतना कार्यक्रम थप उपलब्धिमुलक रहेको विश्वास व्यक्त गर्नुहुदै आगामी दिनमा आफु जहाँ रहे पनि तमु धिं नेपाल आमा समितिले सक्दो सहयोग गर्ने बताउनुभयो।
कार्यक्रममा पुर्व गुल्मपति चन्द्रा गुरुङले कानुनी सचेतना अनिवार्य रहेको बताउनुहुदै आफुलाई परेका कुनै पनि हिंसात्मक कार्य लुकाएर नराख्न आग्रह गर्नुभयो। समस्या लुकाएकै कारण समाजमा विभिन्न घटनाहरु घटित हुने भएकाले सम्बन्धित निकायमा मौकामै उजुरी गर्न आग्रह समेत गर्नुभयो।
गण्डकी प्रज्ञा प्रतिष्ठान परिषद सदस्य सुरेन्द्र गुरुङले तिनदिने कार्यक्रममा व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुहुदै सभ्य समाज निर्माणमा आमा दिदिबहिनीहरुले अगुवाई गर्नुपर्ने बताउनुभयो।
समापन कार्यक्रममा सहभागिको तर्फबाट याङजाकोट तमु समाजकी तिलु गुरुङले तिनदिने कार्यक्रम अत्यन्तै उपलब्धिमुलक भएको बताउनुहुदै कार्यक्रम छुटाउनेहरुले ज्ञान हासिल गर्ने अवसर गुमाएको बताउनुभयो।
उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत तीन दिने कानुनी सचेतना कार्यक्रममा पहिलो दिन अधिवक्ता एवम तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा, नेपाल बार एशोसियसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले व्यवहारिक कानुन, नेतृत्व विकास र सकरात्मक सोंचको बारेमा सहजीकरण गर्नुभएको थियो भने तमु धिं नेपाल अध्यक्ष अधिवक्ता हुमबहादुर गुरुङले पनि कानुनको महत्वका बारेमा चर्चा गर्नुभएको थियो।
तमु धिं नेपाल केन्द्रिय आमा समितिकी वरिष्ठ उपाध्यक्ष पवित्रादेवी गुरुङको अध्यक्षता, द्धितिय उपाध्यक्ष ऐनशोभा गुरुङले स्वागत र सचिव बालकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। तिनदिने कार्यक्रममा विभिन्न समाज, संस्थाबाट ६५ जना आमा दिदिबहिनीहरुको सहभागिता रहेको थियो।
तमु धिं नेपालमा कानुनी सचेतना सम्पन्न
March 24, 2022
410
Advertisment



