पोखरा, ११ चैत,
पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको आयोजनामा प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा हुने भएको छ । चैत १३ देखि १८ गते सम्म तमु धि नेपालको प्राङगणमा आयोजना हुने महापूजाको तयारी अन्तिम चरणमा पुगेको आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरि आयोजकले जानकारी दिएको छ ।
समाजका अध्यक्ष धर्मगुरु डा. श्रीलामाले कोरोना भाईरसको महामारीका कारण मृत्युवरण गर्नेहरुको आत्मा शान्तिका लागि नेपालमै पहिलो पटक कांग्युर वाचन महापूजा आयोजना गर्न लागेको बताए । उनका अनुसार देशका सातै प्रदेशमा यो पुजा आयोजना गरिने् छ । पुजामा १ सय ३ ठेलीको ग्रन्थ ६ दिनमा बाचन गरि सक्याउने लक्ष्य राखिएको उनको भनाई छ । हरेक दिन धर्म देशना, ग्रहशान्ति, र पितृपूजा हुने बताउदै बौद्धमार्गी मात्रै नभइ अन्य धर्मावलम्वीहरु समेत पूजामा भाग लिन सक्ने उनले बताए । पूजा सम्पन्न गर्न करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ भने नेपालका विभिन्न स्थानमा रहेका बौद्ध धर्मगुरुहरुको उपस्थिति रहने छ । गण्डकी प्रदेशको राजधानीमा महापूजा सकिएसँगै देशको अन्य प्रदेशमा पनि महापूजाको कार्यक्रम तय गरिसकेको आयोजकले जनाएको छ । आईतबार विहान ८ बजे देखि सुरु हुने सो महापूजाको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन् ।




