२३ बर्ष पछि पोखराको चर्चित हत्याकाण्डका अभियुक्त गिरी पक्राऊ

पौष २५, पोखरा ।
२३ बर्ष अघि पोखराको नदिपुरमा भएको चर्चित एक हत्याकाण्डका एक अभियुक्त पक्राउ परेका छन । पोखराको नदिपुर स्थित पुल हाउसमा राजेश थकाली माथि संघातिक हमला गरि हत्या भएको थियो । घटनाका अभियुक्त मध्येका सबै जसो अदालतको फैसला बमोजिम पक्राउ परेको भएतापनि पोखरा नदिपुरका उमेश गिरी भने फरार रहेका थिए । उनलाई २३ बर्ष पछि पक्राउ गरि आईतबार जेल चलान गरिएको कास्की प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । हेर्नुस कास्की प्रहरीको प्रेस विज्ञप्ति जस्ताको तस्तै :

जिल्ला प्रहरी कार्यालय, कास्की
मिति २०७९।०९।२४ गते ।
विषय : प्रेस विज्ञप्ति
कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद फैसला भएका प्रतिवादी २३ वर्ष पछि पक्राउ
मिति २०५६।०४।२२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई पेले भन्ने प्रेम कुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मी प्रसाद पराजुली, डिके भन्ने डिक प्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी समेतले धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) समेत प्रयोग गरी टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरेर कर्तव्य गरी मारेको घटना अनुसन्धानको क्रममा तत्काल उमेश गिरी बाहेक अन्य प्रतिवादीहरू पक्राउ परी अनुसन्धान पश्चात् मुद्दा सम्मानित कास्की जिल्ला अदालतमा पेश हुँदा निजहरू पुर्पक्षको लागि थुनामा गएको र मिति २०५८।१२।०१ गते फैसला हुँदा प्रतिवादी पेले भन्ने प्रेम कुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई सर्वस्व सहित जन्मकैद, पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिक प्रसाद पुन, लक्ष्मी प्रसाद पराजुलीलाई ३ वर्ष कैद र फरार प्रतिवादी उमेश गिरीको हकमा अ.ब. १९० बमोजिम मुत्लवीमा रहने ठहर भएको । प्रतिवादी उमेश गिरीको हकमा मुत्लवीमा रहेको मुद्दा मिति २०६६।०४।२७ गतेको आदेशले मुत्लवीबाट जागी दर्ता भएपछि मुद्दामा मिति २०६६।११।२७ गते फैसला हुँदा प्रतिवादी उमेश गिरीलाई सर्वस्व सहित जन्मकैद ठहर भएको र निज प्रतिवादी हालसम्म फरार रहेको ।
फरार प्रतिवादी पक्राउ गर्दाको विवरण :
निज उमेश गिरी वारदात पश्चात् भागेर लामो समयसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेश बसेर केही वर्ष अगाडी नेपाल स्थित चितवनको धनगडा मन्दिर आसपासको क्षेत्रमा लुकी छिपी बस्दै आएको भन्ने प्रहरी अनुसन्धानबाट पत्ता लगाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०९।२३ गते दिनको १६:२५ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलमा रहेको सिमा अधिकारीको घरमा कोठा भाडामा लिएर लुकी छिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएकोमा निजलाई आज मिति २०७९।०९।२४ गते सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतको आदेश बमोजिमको ठेकिएको सर्वस्व सहित जन्म कैद (२५ वर्ष) भुक्तानको लागि कारागार कार्यालय कास्की थुनामा पठाएको ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका विवरण
प्रस्तुत घटनामा आफ्नो संलग्न रहेको र आफूलाई प्रहरीले खोजी गरेको थाहा पाएपछि निज प्रतिवादी उमेश गिरी भन्ने उमेश बहादुर गिरी घटना पछि भागेर काठमाण्डौ गएर बसी सोही स्थानबाट विदेश जाने प्रकृयामा लागि सुरुमा कतार भन्ने देशमा गई करिब १०/१२ वर्ष बसेको, त्यसपछि इराक गई ३ बर्ष बसेको, त्यसपछि २ वर्ष अफगानिस्थान गएर बसी ७/८ वर्ष अगाडी नेपाल आई चितवनमा आएर कहिले वर्कसप त कहिले वाइन सप पसल खोली आफ्नो परिचय विप्लव भन्ने, बुवा आमा समेतको स-परिवार UK रहेका र आफू पनि UK जाने आउने गर्छु भनि करिब ७ महिना पनि UK जाने हो भनि निस्किएर भारत गई बसेर डेढ महिना अगाडी मात्र सो स्थानमा रहेको कोठामा लुकिछिपी बस्दै आएको हुँ भनी बताएको ।

पक्राउ प्रतिवादीको विवरण तथा फोटो :-
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ मा डेरा गरी बस्ने हरि गिरीको छोरा वर्ष ४६ को उमेश गिरी भन्ने उमेश बहादुर गिरी ।

Advertisment