चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयोः प्रथम राष्ट्रपति यादव

काठमाडौं, चैत ३० गते। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा भएको बताउनुभएको छ।

बिहीवार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताउनुभएको हो। उहाँले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने बताउनुभयो।

एकले अर्कालाई मत हाल्दा कांग्रेसका कार्यकर्तापछि पार्टीसँग जोडिएर जान नसक्नेमा उहाँले शंका व्यक्त गर्नुभयो। उहाँले नेपाली कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई दर्द हुने पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘चुनाव अगाडि गठबन्धन गर्दा लोकतन्त्रवादीलाई घाटा भएको छ। खास गरेर कांग्रेसलाई घाटा भएको छ। हामी कांग्रेसी छैनौँ। म नै छैन अहिले। दमनजी पनि हुनुहुन्न। कृष्णजी पनि हुनुहुन्न। तर कांग्रेसको कुलबाट आयो भने भन्छौँ कि हामी कांग्रेसी छैनौँ। तर दर्द हुन्छ। कांग्रेसले जुन अगुवाइ गर्न सक्दैन। देश बनाउनमा इमान्दारितापूर्वक जो अगाडि बढ्न सक्दैन। त्यसले गर्दा हामीलाई दर्द हुन्छ। म भन्न चाहन्छु कि पार्टी खडा गरेर, पार्टीको आफ्नो सिद्धान्त, आफ्नो आदर्श, आफ्नो सारा कुराहरु जनतामा भन्ने र जनसंग्रह गरेर जनकल्याणको लागि अगाडि बढ्नुपर्छ।’’

प्रथम राष्ट्रपति यादवले नेपाली कांग्रेसका पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको बताउनुभयो। उहाँले नेपाली कांग्रेसका नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका त्याग र योगदानको बारेमा पछिल्लो पुस्ताका कांग्रेसीहरुलाई प्रशिक्षित गर्नु आवश्यक रहेको बताउनुभयो।

Advertisment