राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

९ वैशाख, काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला अर्थशास्त्री डा.रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको छ ।

नवनियुक्त डा. पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक र अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छन् ।

पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन् । बुढाथोकी भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहण पछि हुने भएको छ ।

सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मिनबहादुर श्रेष्ठ तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको छ  । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

 

Advertisment