पूर्व गृहमन्त्री खांड पक्राउ, तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, वैशाख २७ गते ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौंको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उहाँसँगै उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। हिजो पक्राउ परेकाको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज पक्राउ परेका खाण र केसीको हकमा तीन दिन र अन्यको हकमा चार दिन म्याद थपको सिफारिससहित अदालतमा पेश गरिएको थियो। अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको छ।

उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यसअघि हिजो मङ्गलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ। सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ।

उक्त घटनामा मुछिएका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ। उहाँलाई एमालेले आजै सचिवबाट निलम्बन पनि गरिसकेको छ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्। रासस

Advertisment