आईपीओमा १० कित्ते नीति हटाउन समिती !

मंसिर २५, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण शेयर (आईपीओ)को १० कित्ते नीति हटाउने तयारी गरेको छ । जसका लागि बोर्डले सोमबार १० कित्ते नीति पुनरावलोकन भन्दै समिति नै बनाएको हो ।

बोर्डले बनाएको १० कित्ते नीति पुनरावलोकन समितिको संयोजकमा प्रविन कुमार झा रहनुभएको छ । समितिको सदस्यहरुमा भोलानाथ ढुङ्गाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहनुभएको जानकारी प्राप्त भएको छ ।

बोर्डका अध्यक्ष रमेश कुमार हमालले केही समय अघिदेखिनै धितोपत्र बाँडफाँटमा रहेको न्यूनतम १० कित्ताको नीति पुनरावलोकन हुने बताउदै आउनुभएको थियो । तर, १० कित्ते प्रावधान हटाउने विषयमा विरोध भएको थियो ।

हाल बुक विल्डिङ विधिबाट निष्कासन हुने धितोपत्र बाहेक अन्य धितोपत्रको बाँडफाँटमा न्यूनतम १० कित्ताको नीति कायम रहेको छ । बुक विल्डिङ विधिबाट निष्कासन हुने धितोपत्र खरीदका लागि भने सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । यसर्थ यो विधिबाट निष्कासन गरिएको धितोपत्र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ताको नीति लागू हुने स्रोतले जानकारी दिएको छ ।

Advertisment