पोखरा, १६ साउन,
७ वर्ष अघि राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंको बानेश्वरमा पहिलो पटक खुलेको राष्ट्रिय पोशाक घर अब पोखरा पनि संचालनमा आएको छ ।
नेपाली उत्पादनलाई जोड दिँदै इजी ग्रुपले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएको हो । पोखरा न्युरोडमा खुलेको पोशाक घरको बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, चर्चित गायक प्रकाश सपुत लगायतले उद्घाटन गरे । पोखरालाई आधार क्षेत्र बनाएर खोलिएको पोशाक घरमा अल्लो, ओक्ता, ढाका, कोगटी, गाँजालगायत कच्चा पदार्थ प्रयोग गरि बनाइएका दौरासुरुवाल, टोपीलगायत सटिङसुटिङ उपलब्ध हुने राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका इजी ग्रुपका रामप्रसाद कडेंल र पोशाक घरका बजगाईंको सहकार्यमा पोखराबाट राष्ट्रिय पोशाक र नेपाली उत्पादनलाई जोड दिँदै व्यवसाय थालेका छन् । पोशाकलाई जोड दिँदै पोखरामा शाखा खोलिएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका अध्या पवन प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुपले नवीन काम गरिरहेको बताउँदै पोशाक घर पनि सफल हुने बताए । नाफामात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा उनले जोड दिए ।
गायक प्रकाश सपुतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए । देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको सपुतको भनाइ थियो । १ करोड लगानीमा खुलेको पोशाक घर हजारौंको मनमा बस्ने सपुतको जोड थियो ।
यसका अलाव इजी ग्रुपले पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, मललगायत विभिन्न कम्पनीमा १ हजारभन्दा बढी कामदार उपलब्ध गराउदै आएको ग्रुपका संस्थापक रामप्रसाद कडेंलले जानकारी दिए । यो ग्रुप अन्तर्गत अहिले लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ । गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउने गरेको छ । इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टहरुको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामाग्री विक्री गर्ने गरेको छ । इजी ट्रेडिङका नाममा सरसफाइका सामानहरुको विक्री भइरहेको कडेंलले बताए । इजी ग्रुपले पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगानी गरेको छ ।