पोखरा । यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो ।
पुरस्कारको राशि रु. २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिने भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने एक जना पत्रकारलाई ३ जुन अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवसको दिन प्रदान गरिने गर्दछ ।
प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय प्रतिनिधी परिषद सदस्य राजवहादुर गुरुङ रहेका थिए । सदस्यहरुमा पत्रकार समेत रहेका आयोजक समितिका कानूनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी सगै पदेन सदस्यहरुमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए ।
यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार, दोस्रोपटक रुपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रुपमा र तेस्रोपटक रविचन्द्र पराजुली सम्मानित भइसकेको छन् ।
पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीका जेठा छोरा हुन् । २०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गदै आएका पराजुलीले सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकमा विद्यार्थी पत्रकारको रुपमा पत्रकारीताको यात्रा सुरु गरेका थिए । त्यसपछि जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ देखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आवद्ध रहदै पत्रकारीता क्षेत्रमा कृयाशिल छन् । विशेषगरी खोज पत्रकारिता तथा विकृति विसंगतिविरुद्ध कलम चलाउने पत्रकारको रुपमा परिचित पराजुली साहसी र निडर मानिन्छन् ।
पराजुलीले यस अघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० बाट पुरस्कृत एंव सम्मानीत भै सकेका छन् । विभिन्न संघ संस्थाहरुबाट विभिन्न तालिम समेत लिएका पराजुली नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव समेत हुन् ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणको ७५ औं अर्थात हिरक महोत्सव मनाइदैछ । सोही अवसरमा समितिले पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपुर्ण पदमार्गमा २० जेठमा पाँचौ संस्करणको अन्नपुर्ण म्याराथन २०८२ आयोजना गदैछ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन थर्डको अवसर पारि समितिले विगत पाँच वर्षदेखि म्याराथन आयोजना गदै आएको हो ।
चार हजार १३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधारशिविरबाट सुरु हुने ४२.१९५ किलोमिटरको म्याराथन त्यसपछि माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ चुईले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुदै एक हजार ९५५ मिटर उचाईमा रहेको घान्द्रुकस्थित श्री मेश्रम वराह मा.वि.को खेल मैदानमा आएर सम्पन्न हुनेछ ।
अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गको पूर्वाधार विकास, पर्यटन प्रबद्धन सगै खेल पर्यटनको विकास र विस्तार गर्ने उदेश्य सहित म्याराथन आयोजना गदै आएको आयोजक समितिका अध्यक्ष एंव म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।
३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजार भन्दा अग्लो हिमाल आरोहण गरि विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाईदै आईएको छ ।
महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनको दुबैमा प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार सगै पदक र प्रमाणपत्र पुरस्कार पाउने छन् । यसै गरि म्याराथनका थप पुरस्कारहरुमा अन्नपूर्ण गाउँपालिका प्रथमलाई विशेष पुरस्कार (अन्नपूर्ण गा.पा. घर भई म्याराथनमा सहभागी भएको धावक), गण्डकी प्रदेश प्रथमलाई विशेष पुरस्कार (गण्डकी प्रदेशमा घर भई म्याराथनमा सहभागी भएको धावक), महिलातर्फ निरन्तर तीन पटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, विदेशी धावक (महिला तथा पुरुष) प्रथमलाई विशेष पुरस्कार, ७५ औं स्थान प्राप्त गर्ने धावकले डायमण्ड जुब्ली अवार्ड पाउनेछन् । त्यसै गरि विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएको छ ।



