रसुवागढीमा क्षतिग्रस्त संरचना चीनले बनाइदिने: चारवटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

रसुवागढीमा क्षतिग्रस्त संरचना चीनले बनाइदिने

एक हजार २७० जना सरकारी कर्मचारी चीनका विभिन्न संस्थाहरुले आयोजना गर्ने द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर

blog

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा चारवटा समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गरिँदै । तस्बिर : अर्थमन्त्रीको सचिवालय

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो ।

द्विपक्षीय भेटवार्तापश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो ।

चितवनको भरतपुरस्थित बि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टसन निर्माणसम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो। जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभयो ।

भरतपुर स्थित बि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पातालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ।

त्यस्तै, निजामती कर्मचारी अस्पतालको विस्तारको सम्भाव्यता अध्ययन हुनेछ। यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। यसबाट एक हजार २७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ। यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ।

यही अवसरमा रसुवागढी–केरुङ् सिमापार ट्रान्समिसन लाइन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभयो ।

यसबाट रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धमा चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिनुभयो।

साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विचार व्यक्त गर्नुभयो।

अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संसाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताउनुभयो ।

उहाँले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

चीनले भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्ने 

रसुवा जिल्लामा बाढीले क्षति पुर्‍याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।

अर्थमन्त्री भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिनुभयो ।

सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौं ।’’

Advertisment