पोखरा फाईनान्स कमजोर संस्थासंग मर्जरमा !

पोखरा । पोखरा आसपासका भुतपुर्ब सैनिकहरुले स्थापना गरेको पोखरा फाइनान्स लिमिटेड अन्तत मर्जरमा जाने भएको छ । पोखरा र यहांका भुतपुर्व गोर्खा सैनिक तिनका पारिवारिक भावना जोडिएको पोखरा फाईनान्स मर्जर पछि भने केन्द्रिय कार्यालय काठमाण्डौमा रहने सम्झौता भएको सार्वजनिक गरेको छ ।
पोखरा फाईनान्सले धेरै बाणिज्य तथा बिकास बैंक संग सम्वाद गरेको भएतापनि अन्तिममा काठमाण्डौको समृद्धि फाइनान्स लिमिटेड बिच मर्जरमा जाने सम्झौता भएको हो ।
दुवै संस्थाबीच १,१ को स्वाप रेसियोमा (एक सेयर बराबर एक सेयर) मर्जरको सहमति भएको छ।
समृद्धि फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।
मर्जरपछि संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममा रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा सारिने सम्झौता भएको छ । मर्जरपछि बन्ने संयुक्त संस्थाको सञ्चालक समितिको अध्यक्ष समृद्धि फाइनान्सबाट चयन गरिने र सञ्चालक समितिमा समृद्धिबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहने व्यवस्था मिलाइएको छ।
मर्जर पश्चात संयुक्त संस्था अझ सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने दाबी गरिएको छ । तर यता पोखरा फाईनान्समा भने आफु भन्दा कमजोर संस्थासंग मर्ज गरेको भन्दै असन्तुष्टी पोख्न थालिएको स्रोतले जानकारी दिएको छ ।




