एनआरएनएमा गुटबन्दी अन्त्य गर्न अध्यक्षमा उम्मेदवारी : रोविन शेरचन

काठमाडौं । पोखराका रोविन शेरचनले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार दिने भएकोछ । संस्थाभित्र मौलाएको गुटबन्दी र असमझदारी लाई अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिने बुधबार एनआरएनए डेलिगेट्सहरुको स्वागतमा आयोजित कार्यक्रममा जानकारी दिएका हुन । एनआरएनएको १२औं महाधिवेशन चैत ३० देखि काठमाडौँमा हुने भएको छ ।

शेरचनले संस्थाको बिग्रँदो अवस्थालाई ‘टुलुटुलु हेरेर बस्न नसकेपछि’ आफू चुनावी मैदानमा होमिएको प्रष्ट पारेका हुन्।

शेरचनले संस्थाभित्र अहिले स्पष्ट रुपमा गुट सक्रिय रहेको भन्दै चिन्ता व्यक्त गरे। “अहिले हामी विशेषगरी चार गुटमा छौं— महेश जीको गुट, बद्री जीको गुट, आरके शर्माको गुट र विनोद कुँवरको गुट,” उनले भने, “हामीले जबसम्म यी गुटहरुलाई एकै ठाउँमा ल्याएर सबैको भावना समेट्न सक्दैनौं, तबसम्म यो संस्था बन्दैन। हिजो चार गुट थियो, भोलि यो पाँच-छ गुट हुँदै जाने सम्भावना मैले देखेको छु।”

एनआरएनएभित्रको हालको अवस्थालाई ‘फोहोर पोखरी’ को संज्ञा दिँदै उनले आफ्नो उम्मेदवारी सोही पोखरीलाई ‘सङ्ल्याउने’ (सफा गर्ने) क्रममा आएको बताए। “संस्थामा भएका धेरै किसिमका असमझदारी र गुटबन्दी अब हुनुहुँदैन। यो फोहोर पोखरीलाई सङ्ल्याउने क्रममा मेरो उम्मेदवारी रहेको छ भनेर बुझिदिनुहोला,” शेरचनले भने।

व्यक्ति-व्यक्ति र संस्थागत रुपमै ठूलो विभाजन आएको महसुस गरेको बताउँदै उनले सम्पूर्ण पक्षलाई मिलाएर संस्थालाई एकीकृत बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको सुनाए।

“यी सबै पक्षलाई मिलाएर, संस्थालाई अझै एकीकृत बनाएर यसको भविष्य उज्ज्वल बनाउने मेरो लक्ष्य हो,” शेरचनले आफ्नो प्रतिबद्धता जाहेर गर्दै भने, “विश्वभर छरिएर रहेका करिब ८० लाख गैरआवासीय नेपालीहरुको भावना र विचारलाई समेट्दै, सबैलाई एकै ठाउँमा राखेर अगाडि बढ्ने प्रण गर्दछु।”

संस्थाभित्रको विवादले आम गैरआवासीय नेपालीमा निराशा छाएको बेला सबै गुटलाई भत्काएर एकताको सन्देश दिन आफूले नेतृत्व दाबी गरेको उनले डेलिगेट्सहरुमाझ प्रष्ट पारेका छन्।

कार्यक्रममा वर्तमान अध्यक्ष महेश श्रेष्ठसहित ठूलो सङ्ख्यामा एनआरएन अभियन्ताहरूको सहभागिता रहेको थियो। शेरचन जापानमा प्रतिष्ठित ब्यवसायीका रुपमा परिचित छन ।

Advertisment