हरिप्रसाद बास्तोला / (रासस)
गण्डकी, २० चैत : बालबालिकामा देखिने मस्तिष्क र स्नायु कोषहरुको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम भएको यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
१९ औ अन्तराष्ट्रिय अटिजम सचेतना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १७ महतगौडामा सञ्चालित जानकी माध्यमिक विद्यालय अटिजम श्रोत केन्द्रमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय भुसको आगो जस्तो पैmलिएको अटिजमका विषयमा सिंगो समाज सचेत हुनु पर्ने आवश्यकता औल्याएका हुन ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै पछिल्लो समय घरघरको समस्याका रुपमा देखिएको अटिजमको केही हतसम्म भएपनि समाधानका लागि महानगरले पहिलो पटक श्रोत कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो ।
जानकी माविको खेलमैदानमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण अधुरो रहेको भवनलाई सम्पन्न गरि सञ्चालनमा आएको सो अटिजम श्रोत केन्द्रमा हाल ४० जना विद्यार्थी, आठ जना सहजकर्ता र आया, एक जना थेरापिष्ट अध्ययन अध्यापन गर्दै आएका छन् ।
कार्यकक्रममा पोखरा १७ वडा कार्यालयले श्रोत केन्द्रका लागि आवश्यक ५० हजार रुपैया मुल्य वरावरका आवश्यक सामाग्री विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । दिवसका अवसरमा अटिजमका विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय आमा समुह, टोल विकास संस्थाहरुको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा नम्रता केसी, पूर्व विविस अध्यक्ष नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कँडेल, अटिजम श्रोत केन्द्र इन्चार्ज कमल आचार्य लगायतले अटिजमको वर्तमान अवस्था र यसमा तीनै तहका सरकारले खेल्नु पर्ने भूमिकाका वारेमा चर्चा गर्नुभएको थियो ।


