ICAN पोखरा शाखाद्वारा पूर्व–बजेट छलफल कार्यक्रम सम्पन्न

पोखरा  । ICAN पोखरा शाखाको आयोजनामा “Driving Economic Growth: Budget Priorities for Tourism, SMEs, and Entrepreneurship” विषयक पूर्व–बजेट छलफल कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको छ।
कार्यक्रममा ५० भन्दा बढी सहभागीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन आरए चन्द्रबहादुर सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता ICAN पोखरा शाखाका संयोजक उभेक कुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा चार्टर्ड एकाउन्टेन्ट सागर आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
ICAN केन्द्र तथा यसको शाखाहरूले विगत वर्षहरूमा पनि पूर्व–बजेट अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। यस वर्षदेखि भने आर्थिक सुधारमा सरकारसँग सहकार्य गर्ने उद्देश्यका साथ विभिन्न शाखाहरूले फरक–फरक क्षेत्रहरूमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्ने पहल सुरु गरिएको छ। सोही अनुसार, ICAN पोखरा शाखाले पर्यटन, साना तथा मझौला उद्यम (SMEs) तथा उद्यमशीलतालाई आफ्नो प्रमुख विषयको रूपमा चयन गरेको हो।
यस कार्यक्रमबाट प्राप्त समस्या पहिचान, सिफारिस तथा ती सिफारिसहरूको GDP वृद्धि, राजस्व संकलन तथा रोजगारी सिर्जनामा पर्ने प्रभावका आधारमा तयार पारिएको सुझाव वित्त मन्त्रालयमा पेश गरिने जनाइएको छ।
कार्यक्रममा इन्जिनियर प्रतीक राज पहारी (MBA, सदस्य HAN तथा NYEF) ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्यानल छलफलको सहजीकरण चार्टर्ड एकाउन्टेन्ट उभेक कुमार श्रेष्ठले गर्नुभएको थियो।
प्यानल छलफलमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणि राज लमिछाने, पोखरा पर्यटन परिषदका सल्लाहकार दीपेन्द्र पहारी, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम तथा पर्यटन क्षेत्रमा अनुभवी चार्टर्ड एकाउन्टेन्ट बिमल लम्साल सहभागी हुनुहुन्थ्यो।
छलफलका क्रममा ICAN पोखरा शाखाले पर्यटन, साना तथा मझौला उद्यम (SMEs) तथा उद्यमशीलताको विकासमार्फत आर्थिक वृद्धि हासिल गर्न सकिने सम्भावनामा केन्द्रित भएर ठोस सुझावहरू संकलन गरेको जनाएको छ।
प्यानलिस्टहरूले इभेन्ट टुरिज्म प्रवर्द्धन, नयाँ अन्तर्राष्ट्रिय उडान विस्तार, पर्यटन उत्पादन तथा बजार विविधीकरण, SMEs का लागि सहज व्यवसाय वातावरण, एकीकृत कर प्रणाली (One Window Taxation), अनुपालन खर्च न्यूनीकरण, तथा तालिम र जनचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गरेका थिए।
यसैगरी, डिजिटलाइजेसन, पारदर्शिता, निजी–सरकारी सहकार्य, अन्तिम माइल पूर्वाधार सुधार, र पर्यटन क्षेत्रमा लगानी प्रोत्साहनका विषयमा समेत जोड दिइएको थियो।
ICAN पोखरा शाखाले उक्त छलफलबाट प्राप्त सुझावहरूलाई समेटी आगामी बजेटका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने जनाएको छ।
कार्यक्रमका अन्त्यमा अध्यक्ष उभेक कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रम पश्चात सहभागीहरूबीच अनौपचारिक नेटवर्किङ तथा भोजनको व्यवस्था गरिएको थियो ।

Advertisment