शीर्षक – “समय बदलिन समय नै लाग्दैन ।”
हे प्रियवरहरु,
सम्बन्धहरु ठुलाठुला शास्त्र, तर्क र कुराले होईन,
स-सानो विमति र झिनो मसिनो जिद्दी र अडानले बिग्रिन्छ ।
वैरभाव त्यति मात्रै राख,
ताकि मित्रता भयो भने पनि लज्जाबोध र ग्लानि नहोस् ।
किन ?
किनकि, समय बदलिन समय नै लाग्दैन…।
हे खराब समयहरु,
अलिकति ठोस मर्यादा राखेर सदैव प्रस्तुत होऊ
विश्वासिलो आंचलमा निष्कपट सत्य व्यवहार गर
सुदूर भविष्यपुराण प्रतिपृच्छा ललाटमा देखिन्दैन
आफ्नो बारेमा पनि धेरै धेरै पटक सोंच
किन ?
किनकि, समय बदलिन समय नै लाग्दैन…।
हे पसिनाका ऋणीहरु,
बलिदानको डोबहरुमा कुंदिएको स्वाभिमानलाई
अतृप्त तृष्णाहरुको नग्न अग्निमा चरम दहन नगर
सबैलाई आफ्नो प्रसव मृत्तिका निकै नै प्यारो लाग्छ
क्षणभंगुर जीवनको निथार खोज्न नलगाउनु
किन ?
किनकी, समय बदलिन समय नै लाग्दैन … ।
हे अरुणोदयका आभाहरु,
कर्मको हिउं मुनि पुरिएका विशाल अजर सल्लाहरु
रापिलो सुर्योदयको प्रतिक्षामा पनि हुन सक्छन्
अस्मिता र अस्तित्वको भीषण संघर्षमय पलमा
अग्नि, डढेलो र खरानीको आभुषण याचना नगर्नु
किन ?
किनकी, समय बदलिन समय नै लाग्दैन…….. ।
हे उत्सर्गका बैंसहरु,
आफैलाई तिलान्जली दिएर माटो जोगाउनेहरुले
बृक्षको वंशमा डाडाभरी पहिरो जान रोक्न सकेनन्
अश्रुको पुष्पान्जलीमा क्लेशको क्लान्त मुहार
यौवनको असहनीय वासनामा मगमगाउने तर्कना नगर्नु
किन ?
किनकी, समय बदलिन समय नै लाग्दैन …….. ।




