पोखरा, १९ असार । तान्चोक कोट नौजे पंगिलामा परिवार पोखराले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार एक दिवसीय नि:शुल्क आँखा शिविर भव्य रूपमा सम्पन्न गरेको छ।
हिमालय आँखा अस्पताल, घारीपाटनको प्राविधिक सहयोग तथा पोखरा फाइनान्स लिमिटेडको सहकार्यमा शिविर सञ्चालन भएको थियो।
शिविरको समुद्घाटन समारोह तानचोक कोट नौजे पंगिलामा परिवारका संस्थापक अध्यक्ष क्याप्टेन धरमसिंड गुरुङको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन सत्रमा बोल्दै हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुवास नेपालले आँखा निकै संवेदनशील अंग भएको बताउँदै समस्या निकै बल्झिएपछि मात्र जँचाउने बानीले ठूलो धोका हुन सक्ने उल्लेख गरे। उनले यस्ता गाउँ-घर र आँगनमै आइपुग्ने शिविरहरूबाट समयमै लाभ लिन सबैलाई आग्रह समेत गरे।
सुरुमा संस्थाका करिब १०० जना सदस्यहरूलाई लक्षित गरिए तापनि शिविरमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम संयोजक राजबहादुर गुरुङका अनुसार शिविरमा संस्थाका सदस्य, ज्येष्ठ नागरिक तथा स्थानीय गरी कुल १४१ जनाको आँखा परीक्षण गरिएको थियो। शिविरमा दक्ष चिकित्सक तथा प्राविधिक जनशक्तिद्वारा आधुनिक उपकरणका माध्यमबाट आँखा जाँच गरिनुका साथै बिरामीहरूलाई आवश्यकता अनुसार नि:शुल्क चस्मा र औषधि समेत वितरण गरिएको थियो।
शिविर सम्पन्न गर्नका लागि संस्थाका सदस्यहरूबाट स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग प्राप्त भएको संस्थाका कोषाध्यक्ष विनोद गुरुङले जानकारी दिए।
विभिन्न क्षेत्रबाट आएका अतिथिहरू, संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव शान्तिकुमारी गुरुङले गरेकी थिइन्।
तान्चोक कोट नौजे पंगिलामाको नि:शुल्क आँखा शिविर, १४१ जनाले लिए सेवा
July 3, 2026
41
Advertisment




