पृथ्वीराजमार्गमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

अमरराज नहर्की तनहुँ, असोज ९ गते । भारी वर्षासँगै पृथ्वीराजमार्गको तनहुँ खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक जोखिमपूर्ण बनेको छ । राजमार्गको पोखरा–मुग्लिन सडकखण्डअन्तर्गत मौरीबास, मादीपुल छेउ दमौली बजार नजिक, घाँसीकुवा, मुसेखोला, छिर्कने, विमलनगर, डुम्रे बजार नजिकको चिसापानी, सानो डुम्रे तथा ऐनापहरा आसपासलगायत दर्जनौँ स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार राजमार्गका धेरै स्थानमा पहिरो खसेको छ । पहिरो खस्ने क्रम जारी रहेकाले जोखिमयुक्त स्थानमा थप पहिरो खस्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । पहिरोका कारण कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै कतिपय ठाउँमा एकतर्फी सडकलाई दुवैतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सडकको अवस्था जोखिमपूर्ण रहेकाले चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

भारी वर्षाले तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुरतर्फ जाने सडकसमेत प्रभावित भएको जनाइएको छ । मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न भागमा पहिरो खसेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र सम्भव भएसम्म यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले यसअघि नै भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्रशासनले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको थियो । हाल तनहुँमा अविरल वर्षा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । नदी, खोला तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको सतह बढेमा सुरक्षित स्थानमा जान तथा पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारलाई समेत सचेत रहन प्रशासनले अनुरोध गरेको छ । रातको समयमा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भए सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । जोखिम देखिए गन्तव्यमा पुगेरै छाड्नेभन्दा सुरक्षित स्थानमा बास बस्नसमेत अनुरोध गरिएको छ ।

यसैबीच, सुरक्षा समिति तनहुँले जिल्लाका सम्भावित जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन तथा निगरानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयले पनि उच्च जोखिमयुक्त क्षेत्रमा माइकिङ गरी नागरिकलाई सम्भावित विपद्बारे सचेत गराइरहेको जनाएको छ । राजमार्गमा पहिरो तथा अन्य अवरोधका कारण यात्रा प्रभावित हुनसक्ने भएकाले चालक तथा यात्रुले सडकको तत्कालीन अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । सवारी सञ्चालनका क्रममा पहिरो खसिरहेको वा जोखिम देखिएको स्थानमा नरोकिन र सुरक्षित दूरी कायम गर्नसमेत आग्रह गरिएको छ ।

बाढी, पहिरो वा अन्य विपद्को अवस्था आए तत्काल उद्धार तथा सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

Advertisment