युनाईटेड खबर समाचारदाता
पोखरा। पोखरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की मातहतका वडा प्रहरी कार्यालय बैदाम, बगर र रामबजारको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा साउन २७ गते साँझ करिब ८:०० बजे पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गामा खटिएको प्रहरी टोलीले पर्वतको मोदी गाउँपालिका-४ डिमुवा स्थायी घर भई हाल नागढुङ्गा बस्ने २२ वर्षीय मोहमद ईशाक सरिफको कोठामा छापा मारेको थियो।
उक्त कोठाबाट प्रहरीले:
गाँजा: ५ किलोग्राम
Tramadol Hydrocholoride Tablet: ७९० चक्की
Tapentadol Tablets: ३६६ चक्की
डिजिटल तराजु: १ थान
मोबाइल: २ थान बरामद गरेको छ।
थप अनुसन्धानबाट अर्का अभियुक्त पक्राउ
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सरिफले उक्त लागूऔषध पोखरा-१४ युनिटीटोल बस्ने २६ वर्षीय आविस्कार सारुबाट खरिद गरेको खुलेको थियो।
तुरुन्तै सारुको घरकोठामा पुगेर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको थप ९,००० चक्की Tapentadol Tablets फेला परेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा ८ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




