भदौ ३, कास्की । राष्ट्रीय सूचना दिवसको अवसरमा सूचनाको हकका लागि पोखरा महानगर सञ्जालद्वारा प्रकाशित ‘सूचनाको प्रभाव’ नामक पुस्तक एक समारोहका बीच सार्वजनिक गरिएको छ।
सूचनाको हकका लागि पोखरा महानगर सञ्जालको आयोजना तथा सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरुङले सूचना प्रवाह गर्दा प्रशासनलाई काम गर्न सहज नै हुने र जिल्लाभरि सूचना अधिकारीहरू समेत तोकिएको जानकारी दिनुभयो।
विशेष अतिथिको आसनबाट बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष राजबहादुर गुरुङले सूचना नागरिकको मौलिक हक भएको स्पष्ट पार्नुभयो। उहाँले सार्वजनिक निकायहरूले पारदर्शी रूपमा सूचना दिनुपर्ने र यसले समाजमा भ्रष्टाचार न्यूनीकरणका साथै सुशासन कायम गराउन टेवा पुग्ने बताउनुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सूचनाको हक केवल पत्रकारका लागि मात्र नभई लोकतन्त्रलाई संस्थागत विकास गर्नका लागि भएकोले प्रशासकहरू सूचना दिन हच्किन नपर्ने उल्लेख गर्नुभयो। पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्ण बास्तोलाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धिको आधारमा पनि नागरिक र पत्रकारलाई सूचना पाउनुपर्ने अधिकार रहेको धारणा राख्नुभयो।
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कास्की जिल्लाका अध्यक्ष यदुनाथ बञ्जराले ऐनमा नै तोकिएको समयभित्र सूचना दिनुपर्ने व्यवस्था भएकाले सार्वजनिक निकायहरूले ढिलासुस्ती नगरी सहज रूपमा सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। सन्जाल पोखराका संस्थापक संयोजक कृष्ण क्षेत्री (उदय) ले जिल्ला मालपोत लगायतका सरकारी तथा गैरसरकारी निकायका सुचना लिएर बसेको भएता पनि त्यसलाई सार्वजनिक गर्न भने निकै चुनौती रहेको उल्लेख गर्नुभयो ।
सूचनाको हकका लागि पोखरा महानगर सञ्जालका अध्यक्ष अनिल थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष टिका शर्माले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सागर कार्कीले गर्नुभएको थियो।


