कास्की । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्की क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ।
नेपाली कांग्रेसको जारी क्षेत्रीय अधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ मा अग्रज नेताहरू, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको व्यापक सहमतिमा शेरचनलाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएको हो। पार्टीको विधानमा व्यवस्था भए बमोजिम उहाँ अल्पसंख्यक समूहबाट चयन हुनुभएको हो।
सर्वसम्मत चयन भएपश्चात् अध्यक्ष शेरचनले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने सम्पूर्ण पार्टी नेतृत्व, अग्रज नेताहरू, समकालीन साथीहरू तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। यसैक्रममा उहाँले पार्टी संगठनको सुदृढीकरण, देशको खेलकुद क्षेत्रको बृहत्तर विकास र युवाहरूलाई राजनीति तथा खेलकुदमा सशक्त ढङ्गले परिचालन गर्न आफ्नो भूमिका निरन्तर रहने प्रतिबद्धता समेत जनाउनुभएको छ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी
महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै अध्यक्ष शेरचनले आसन्न १५औँ महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ।
लामो समयदेखि खेलकुद राजनीति र पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका शेरचनले पार्टीलाई थप सुदृढ, समावेशी र भ्रातृ तथा शुभेच्छुक संघ-संगठनहरूलाई सशक्त बनाउन केन्द्रीय नेतृत्वमा आफ्नो उपस्थिति आवश्यक रहेको बताउनुभएको छ।




