युनाईटेड खबर
कविराज खनाल, पोखरा, २४ असोज । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा आगामी कात्तिक १३ देखि २३ गतेसम्म छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ। होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने यस महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिइएको हो।
पर्यटन प्रवर्द्धन, स्थानीय माछाको बजारीकरण र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखिएको यस महोत्सवमा माछा तथा मोती खेतीको प्रदर्शनी, स्वादिष्ट माछाका परिकार, सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला र देउसीभैलो प्रतियोगिता आकर्षणका रूपमा रहनेछन्।
पत्रकार सम्मेलनमा व्यक्त विचारहरू:
सुरेश लामिछाने (एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक): महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए।
दुर्गाप्रसाद अधिकारी (संस्थापक अध्यक्ष): २०७१ सालदेखि सुरु भएको महोत्सव कोभिड–१९ पछि पुन: सञ्चालन गर्दै स्थानीय अर्थतन्त्र सुदृढ र देउसीभैलो संस्कृतिको संरक्षण गर्न लागिएको बताए।
हरि भुजेल (पोखरा पर्यटन परिषद्का अध्यक्ष): पोखराका आठवटै तालको व्यवस्थित विकास गर्न र कम्तीमा एउटा ताललाई जलक्रीडा केन्द्रका रूपमा विकास गर्न सुझाव दिए।
मनोहर कडरिया (पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख): पर्यटनको बसाइ अवधि लम्ब्याउन महोत्सव उपयोगी हुने भन्दै रैथाने खानाको प्रवर्द्धनमा महानगरको सहकार्य रहने प्रतिबद्धता जनाए।
प्रभा भुजेल (कसमस इन्टरनेसनल कलेजकी युनिट प्रमुख): शैक्षिक संस्था र पर्यटन क्षेत्रबीच सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन्।
शक्ति श्री कोइराला (एसोसिएसनकी सचिव): महोत्सवमा करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र बचत रकम तालबराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको पर्यटकीय विकासमा खर्च गरिने जानकारी दिइन्।
महोत्सवलाई पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र गोर्खा ब्रुअरी नेपाललगायतका निकायहरूले सहयोग गर्नेछन्।




