माछापुच्छ्रेका सबै वडामा निःशुल्क आँखा शिविर, २ हजार बढी लाभान्वित, १ सय ३२ जनालाई मोतियाबिन्दु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालकिा, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकाका नौ वटै वडामा शिविर सञ्चालन भएको हो ।

हिमालय आँखा हस्पीटल र आई केयर फाउण्डेशनको सहयोगमा भएको उक्त शिविर माछापुच्छ«े गाउँपालिकाका सबै वडामा सञ्चालन भएको हो । नौ वटै वडामा भएको शिविरमा २ हजार जनाले आँखा परिक्षण गराएका थिए । ती मध्ये ३ सय ९३ जनामा मोतियाबिन्दु देखिएकोमा तत्काल १ सय ३२ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

शल्यक्रिया गर्नुपर्ने विरामीलाई माछापुच्छ्रे गाउँपालिकाको व्यवस्थापनमा जाने आउने यातायातको सुविधा र हिमालय आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाईएको छ । शिविरमा आँखा परिक्षण गर्न आउने मध्ये मोतियाबिन्दु सगै मास पलाएको, बोसो पलाएको, आँखा पाकेको, सुख्खा आँखा, पर्दाको समस्या, चस्मा लागाउनु पर्ने विरामी पनि अध्याधिक देखिएको दृष्टि विशेषज्ञ अस्मीता रावलले जानकारी दिइन् । उनीहरुलाई औषधी दिनुको साथै हिमालय आँखा अस्पतालमा जाँच गराउनका लागि सिफारीस गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ स्थित सार्दीखोला स्वास्थ्य चौकीबाट शुरु भएको यो शिविर वडा नं. ४ घाचोकमा आएर समापन भएको हो । शिविरमा आँख परिक्षण गर्न आउने विरामीका लागि निशुल्क औषधिको व्यवस्था प्रतिष्ठानले गरेको थियो भने मोतियाबिन्दुको सल्यक्रिया निशुल्क रुपमा अस्पतालमा नै हिमालय आँख अस्पतालले गर्नेछ ।

उक्त शिविरमा हिमालय आँखा अस्पतालका दृष्टि विशेषज्ञ समिक्षा श्रेष्ठ, शैलेश्वरी ओझा, निकिता महर, कृतिका पण्डितका, पुजा कुमारी शाहा, पुजा कुमारी, अस्मीता रावल, चित्रा पनेरु, सिमा नेपाल, पिन्की यादव, सुष्तिका आले, स्वष्तीका गिरको टोलीले आँखा जाँच गरेका थिए । चरक इन्ष्ट्रिच्युट अफ हेल्थ साइन्सका विद्यार्थी र महिला स्वयम् सेविकाले सहयोग गरेका थिए ।

समापन कार्यक्रममा बौल्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले शिविरले यहाँका दुरदराजका स्थानिय लाभान्वित भएको बताउँदै आगमी दिनमा पनि सहकार्य गर्ने उल्लेख गरे ।
श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले विगत ४ वर्ष देखि दुर्गम क्षेत्रमा नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउनका लागि आँखा शिविर सगै विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए । उनले शिविरमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे । प्रतिष्ठानले महिला समाजसेवी, शिक्षा क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्नुको साथै गरिव विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको सचिव पशुपति सुवेदीले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन घाचोक स्वास्थ्य चौकीका प्रमुख गोविन्द प्रसाद आचार्यले गरेका थिए ।

Advertisment