पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्।
शुक्रबार कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा विद्यार्थीका समूहले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको तथा पोखरा उद्योग वाणिज्य सङ्घले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए।त्यसैगरी पसल डटकमको सेवा विस्तार, साइमेक्स इन्कर्पोरेसनको विद्युतीय गाडी आयातसम्बन्धी विवाद तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको विषयमा पनि विभिन्न भूमिका निर्वाह गर्दै अभ्यास गरेका थिए।
बिबिएको अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीले कार्यक्रममार्फत सञ्चारमाध्यमसँग समन्वय गर्ने व्यावहारिक सीप हासिल गरेको कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले बताइन्।कार्यक्रमबाट विद्यार्थीले पत्रकार सम्मेलन सञ्चालन, प्रेस विज्ञप्ति तयार गर्ने तथा सञ्चारमाध्यमसँग प्रभावकारी समन्वय गर्ने सीप सिकेको विषय शिक्षक सुवास मल्लले बताए।
लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकारबाट आफ्नो प्रस्तुतिमाथि पृष्ठपोषण पाउँदा वास्तविक सिकाइ भएको सहभागी विद्यार्थी आस्तिका बाँस्तोलाले बताइन्।
कार्यक्रममा पत्रकार भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीको प्रस्तुतिमाथि टिप्पणी तथा मूल्याङ्कन गरेका थिए। कार्यक्रममा दुई वटा सेक्सनका ६९ जना विद्यार्थी छ वटा समूहमा विभाजन भई अभ्यासमा सहभागी भएका हुन्।





